बाघको आक्रमणबाट माहुतेको ज्यान गयो
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) को बाघको आक्रमणबाट मृत्यु भएको छ । हिजो साँझ साढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका–१ घर भएका २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई बाघले झम्टेको हो ।
हात्तीसार केन्द्रमै आएर बाघले आक्रमण गरेपछि चौधरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
चौधरीको घाँटीलगायतका भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको हो । शवको जाँच मुचुल्कालगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमको निम्ति भरतपुर अस्पतालमा राखिएको छ ।
यता चौधरीका बुबाले छोराको मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको अधिकारीले जानकारी बताउनुभयो ।
टिप्पणीहरू