मलेसियाका मन्त्री फकाउँदै श्रममन्त्री किसान
मलेसियाको भ्रमणमा रहनुभएका श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको व्यस्त बढेको छ । उहाँ अघिल्लो महिना युएई,सेसेल्स र कतारको भ्रमणमा जाँदा पनि नौ दिनसम्म व्यस्त हुनुहुन्थ्यो । अहिले मलेसियामा पनि त्यस्तै कुदाकुद चलेको बताइन्छ ।
उहाँ स्वदेशमा रहँदा पनि विभिन्न भेटघाटमा व्यस्त रहने गरेको स्रोतको दाबी छ । अहिले आफ्नै नेतृत्वमा मलेसियाको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डल भेटघाट र घुमफिरमा व्यस्त भएको हो । टोलीले मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरी एम सराभनसँग द्विपक्षीय छलफल गरेको छ ।
मन्त्रीले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा,सुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग पनि छलफल भएको बताउनुभएको छ । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको बताइएको छ ।
नेपाली युवालाई दक्ष र सीपयुक्त बनाइ थप रोजगारीका अवसर प्रदान गर्ने,शून्य लागतको सिध्दान्तलाई प्रभावकारी बनाउने,स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको छ ।
पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकाले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभएको छ ।
यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ । साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति पनि भएको छ । मन्त्रीको टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) को समेत भ्रमण गरेको छ ।
टिप्पणीहरू