चितवनमा दिनहुँ बाघले मान्छे खान थाल्यो
चितवनमा बाघको आक्रमणबाट आज पनि एक जनाको ज्यान गएको छ । खैरहनी नगरपालिका १३ बैरियका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
मृतक दाहाल आज बिहान घर नजिकैको जंगलमा घास काट्न गएका थिए । सोही क्रममा उनलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीका अनुसार उनको शव पौने ११ बजे फेला परेको छ ।
दाहालको घाँटीमा गहिरो चोट लागेको छ भने दाहिने तिघ्राको आधा भाग बाघले खाइसकेको अवस्थामा शव भेटिएको हो ।
बाघले आक्रमण गरेको खबरलगत्तै प्रहरी चौकी कुमरोज र इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गरेको थियो । टोलीले मृतक दाहालको बाघले आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा शव फेला पारेको थियो ।
हिजो पनि कसरामा बाघको आक्रमणबाट एक जना माहुतेको ज्यान गएको थियो । यसअघि चैतमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका सुरेश विकको पनि बाघको आक्रमणबाट मृत्यु भएको हो ।
टिप्पणीहरू