लमजुङमा गठबन्धनभित्रै चिसो पस्यो
‘लुटको धन फुपुको श्राद्ध’ भनेझैँ अस्पतालबाट सित्तैंँमा तेल हालेर झण्डावाला गाडीमा चुनावी अभियानमा खटिएकी माओवादी नेतृ तथा गण्डकी प्रदेशकी स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले दुधपोखरी गाउँपालिकाका निर्वाचन अधिकृत रामप्रसाद आचार्यलाई हालै फोनबाट सातो लिइन् ।
बिरामी भएर उपचारको क्रममा काठमाडौँमा रहेकी कृष्णमाया गुरुङले वारेसमार्फत् उपाध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएपछि माओवादीका उम्मेदवार क्षेत्रबहादुर गुरुङले हस्ताक्षर किर्ते भन्दै उजुरी गरे । माओवादी भनिए पनि काँग्रेस नेतृ तथा उक्त गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङको नजिकको भनेर कहलिएका क्षेत्रबहादुरले सो कुरा जानकारी गराएपछि कुनै हालतमा मनोनयन दर्ता नगर्न मधुमायाले आग्रहपूर्ण आदेश दिएर आचार्यको सातो लिएकी हुन् ।
एमालेको तर्फबाट प्रत्यासी गुरुङ आफैँ पुगेर स्पष्टीकरण दिएपछि हस्ताक्षर सनाखतका लागि केन्द्रीय निर्वाचन आयोग पठाउने सहमतिमा निर्वाचन अधिकृतले कृष्णमायाको उम्मेदवारी दर्ता गरिदिएका थिए ।
सोही गाउँपालिकामा काँग्रेसका पुराना नेता खुशीमान गुरुङ्ग र जिल्ला सभापति टकराज गुरुङबीच मोलमोलाई नमिले पनि टिकट धनराज गुरुङले पाएका हुन् । त्यसपछि बागी बनेका खुशीमानले चुनाव जित्ने दूधपोखरीवासीको अड्कल छ । चुनावी तालमेल र जीतहारले भन्दा काँग्रेस निकट बेसीसहर निवासी एक महिलाले सभापति टकराज गुरुङलाई सामाजिक सञ्जालमार्फत गरेको गाली बेइज्जतीले लमजुङ गर्माएको छ । उनले सभापति गुरुङलाई पैसा खाएर टिकट बाँडेको, ठग, दलाल मात्रै हैन कैयौं झर्रे शब्दले गाली गरेकी छन् ।
राइनास् नगरपालिकामा उपमेयरको प्रत्यासी बनेकी विष्णुमाया धिताललाई टकराजले अनेकौं त्रासपूर्ण धम्की दिएर मनोनयन फिर्ताको अन्तिम दिन १२ बजे मध्यरातमा उम्मेदवारी फिर्ता गर्न बाध्य पारेको बताइन्छ । त्यसपछि उनलाई लक्षित गरेर सामाजिक सञ्जालमा गुरुङको विरोध भएपछि लमजुङमा गठबन्धन संकटमा परेको हो । काँग्रेसका जसरी पनि माओवादीलाई भोट हालिन्न भन्दै हिँड्न थालेका छन् ।
-अञ्जनकुमार
टिप्पणीहरू