राहुल गान्धी हिजो राति नाइटक्लबमा, गएराति लाँकुरी भञ्ज्याङको रिसोर्टमा
सुम्निमा उदासको बिहेमा सहभागी हुन अस्ति अपरान्ह काठमााडौं आएका भारतीय राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी हिजो राति ललितपुरको दक्षिण भेगमा रहेको लाँकुरी भञ्ज्याङ पुगेका छन् । उनी लाँकुरी भञ्ज्याङस्थित सुम्निमाका पिता तथा म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदासको रिसोर्टमा पुगेका हुन् ।
गान्धीसहित चार जनाको टोली सुम्निमाको बिहेको निम्तो मान्न काठमाडौं आएका हुन् । सुम्निमा सीएनएनको नयाँ दिल्लीस्थित पूर्वसंवाददात हुन् । गान्धी र सुम्निमा निकै नजिकका घनिष्ठ साथी पनि हुन् ।
हिजो साँझ साढे ६ बजेदेखि राति पौने १० बजेसम्म भएको उदास निवास मानभवनमा भएको सुम्निमाको विवाहमा सहभागी भएर गान्धी लगत्तै बा१५च ६७७३ नम्बरको सवारी साधनमा लाँकुरीभञ्ज्याङतर्फ लागेको बताइन्छ । बिबाह समारोहमा गान्धीसहित उपेन्द्र महतो, पूर्वप्रधानसेनापति प्यारजंग थापालगायत करिब ८० जनाको उपस्थिति थियो ।
राहुल गान्धी मानभवनबाट लाँकुरी भञ्ज्याङतर्फ जाँदा ११ जनाको टोली मानभवनबाट निस्केको थियो । त्यहाँको रिसोर्टमा बिबाह भोज समेत आयोजना गरिएको बताइन्छ । भोजमा सरिक भएपछि गान्धी र उनको टोली त्यहीँ सुतेको हो ।
सुम्निमाको विवाह भोज भोलि साँझ हायात होटलमा राखिएको छ ।
टिप्पणीहरू