हावाहुरीले तराईमा केराको बोट सोत्तर, करोडौंको क्षति
बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट केराको बोट सखाप भएको छ । केराको बोट ढलेपछि झण्डै पाँच करोड रुपैयाँ बराबरको केराखेती नष्ट भएको हो । असिना पानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति पुर्याएको छ ।
असिना पानी र हावाहुरीले केराखेती नष्ट हुँदा करोडौंको क्षति भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।
उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केराखेती गरिएको छ । त्यसमध्ये एक सय २० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केराको बोट सबैभन्दा बढी ढालेको छ ।
केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि छ लाखसम्म आम्दानी गर्दै आएका थिए । तर, बेच्ने बेला भएको बेलामा आएको हुरीले केराखेतीमा क्षति पुर्याउँदा किसानहरू मर्कामा परेको निजगढ नगरपालिका–९ का केराखेती किसान मानबहादुर श्रेष्ठले बताए ।
उखुखेतीबाट पीडित अधिकाशं किसानले लगाएको केरा हावाहुरी र असिनाले नष्ट गरेपछि किसान थप समस्यामा परेको अर्का किसान नानी सञ्जेलले बताए । उनले केराखेतीमा ठूलो क्षति भएकाले राज्यले क्षतिपूर्तिको माग गरेका छन् ।
टिप्पणीहरू