नयाँ आईजीपीमाथि अर्को आरोप
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहमाथि मानवअधिकार उल्लंघनको आरोप लागेको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानवअधिकार उल्लंघनकर्तालाई आइजीपी नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
आज आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आयोगले अनुसन्धान गरिरहेकोसमेत जानकारी दिए । कुवेरसिंह रानाको उदाहरण दिँदै उनले आईजीपी सिंहकोसम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको बताएका हुन् ।
’कुनै बेला कुवेरसिंह रानामाथि आरोप लागेको थियो २०६५ सालमा । र, त्यसबेला आयोगका तत्कालीन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो,’ उनले भने, ‘लगभग अहिले हामी अनुसन्धान गर्दैछौँ ।’
आयोगका सदस्य ठाकुरले आईजीपी सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न सरोकारवाला सबैलाई आग्रहसमेत गरेका छन् । सिंहको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
सरकारले वरियतामा १ नम्बरमा रहेका एआईजी विश्व पोखरेललाई छाडेर सिंहलाई आईजीपी बनाएपछि विवाद शुरु भएको हो । सर्वोच्चको रिटउपर अहिले सुनुवाई भइरहेको छ ।
टिप्पणीहरू