‘कण्डम लगाएर’ बलात्कार गरेका एमाले सांसदका आफन्तमाथि पीडितलाई दुःख दिएको आरोप

‘कण्डम लगाएर’ बलात्कार गरेका एमाले सांसदका आफन्तमाथि पीडितलाई दुःख दिएको आरोप

बलात्कार आरोपमा जेल परेर धरौटीमा छुटेका एमाले सांसद मोहन बानियाँमाथि पीडितलाई धम्क्याएको आरोप लागेको छ । पाँच लाख रुपैयाँ धरौटी बुझाएर छुटेपछि सांसद बानियाँका आफन्तले आफूलाई धम्की दिन थालेको पीडित महिलाले गुनासो गरेकी छिन् ।

पीडितका अनुसार धरौटीमा छुटिसकेपछि सामाजिक सञ्जाल तथा टेलिफोनबाट बानियाँका आफन्तले बयान फेर्न दबाब दिइरहेका छन् । उनका आफन्त नरेन्द्रबहादुर रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बयान चेञ्ज गर्न सकिन्छ कि हजुर के छ ? कुरो र कुलो जता लायो उतै जाने हो ।’

पीडित महिलाले उनलाई धरौटीमा रिहा गरेर अन्याय भएको पनि बताएकी छन् । उनले भनिन, ‘एक त आफू अन्यायमा छु त्यसैमा बानियाँका आफन्तबाट दबाब आउन थालेको छ । झनै असुरक्षित महशुस भइरहेको छ ।’

सांसद बानियाँले माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेको थियो । उजुरीपछि फागुन १६ गते सांसद बानियाँ नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका थिए ।

आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले होटलमा बोलाएको र कण्डम प्रयोग गरेर दुई पटक बलात्कार गरेको ती महिलाले प्रहरीमा बयान दिएकी थिइन् । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका उनी बाँके जिल्ला अदालतको आदेशले चैत २ गते धरौटीमा छुटेका थिए ।

मुगुका बानियाँ एमालेबाट समानुपातिक सांसद हुन् । केपी ओली प्रधानमन्त्री हुँदा उनी केही समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्नेगरी विना विभागीय मन्त्री भएका थिए ।

टिप्पणीहरू