आचारसंहिता पालना गर्न सिडियोको निर्देशन
जिल्ला प्रशासन कार्यालय, चितवनले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सम्बन्धित सबै सरोकारवालालाई निर्देशन दिएको छ । आसन्न स्थानीय चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, त्रुटिरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रशासनले निर्वाचन आचारसंहिता, २०७८ पूर्णरुपमा पालना गराउन भनेको हो ।
गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताविपरीत कुनै पनि कार्य नगर्न प्रशासनले सबै पक्षलाई आग्रह गरेको छ । साथै, राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी र निकायलाई उसले निर्वाचन आचारसंहिताबारे स्मरण गराएको छ ।
‘सार्वजनिक उद्यान, सडक, पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न नहुने प्रावधान छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । साथै, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड तथा अन्य सामग्री बनाउन र श्रव्यदृश्य सामग्री प्रदर्शनमा पनि रोक लगाइएको छ ।
आचारसंहिता विपरीत कार्य गर्ने उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान भएको अवगत गराउँदै त्यसो नगर्न प्रशासनले सुझाएको हो । यता, निर्वाचन आयोगले स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट निर्वाचन हुन नसक्ने लागेमा त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्ध हुनसक्ने चेतावनी दिएकाले त्यसतर्फ ख्याल गर्नसमेत सिडियो कार्यालयको निर्देशनमा उल्लेख छ ।
टिप्पणीहरू