काँग्रेसले हसिया हथौडा र वामपन्थीले रुखमा भोट हाल्न हिच्किचाउनु हुँदैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको भविश्य चुनावको परिणाममा निर्भर रहने बताउनुभएको छ । चितवन कांग्रेसका नेताहरुले सत्ता गठबन्धनको निरन्तरतामा आफ्नो भूमिकामाथि प्रश्न उठाएपछि उहाँले यस्तो बताउनु भएको हो ।
चितवनमा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले हँसिया हथौडामा र वामपन्थीहरुले रुखमा भोट हाल्न आनाकानी गरे गठबन्धन सफल नहुने र देश दुर्घटनामा जान सक्ने खतरा पनि औल्याउनु भयो ।
‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भनुभयो ।
भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजान उत्साह मिल्ने उहाँले बताउनुभयो । रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने पनि प्रचण्डले उद्घोष गर्नुभयो ।
‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन’, प्रचण्डले भन्नुभयो ।
टिप्पणीहरू