एमालेमाथि ९८ प्रतिशत झूठो बोलेको आरोप
सत्तारुढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रतिपक्ष एमालेले जनतासँग ९८ प्रतिशत झूठो बोलेको आरोप लगाएका छन् ।
डडेलधुरामा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७४ को निर्वाचनमा विजयी भएका स्थानीय तहमा घोषणापत्रअनुसार काम नगरेर एमालेले जनतालाई झुक्याएको बताएका हुन् ।
एमालेले जनभावनाअनुरूप काम नगरेको आरोप लगाउँदै उनले भने, ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ । व्यवहार ठीक उल्टो गर्छ । घोषणापत्रमा वाचा गरेअनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ । ९८ प्रतिशत झूठो बोलेको छ । अब एमालेको झूठको खेती टिक्दैन ।’
काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्रम नछर्ने बताउँदै उनले भने, ‘काँग्रेस जनताको पार्टी हो । हामीलाई सँधैँ जनताको माझमा जानु छ । भ्रम छरेर एक पटक त चुनाव जितिएला । तर, वास्तविकता बुझिसकेपछि जनताले हैसियत देखाइ दिनेछन् ।’
देश अप्ठ्यारोमा पर्दा काँग्रेसले नै जोगाउने भएकाले शुरुमै विजयी बनाएर काम गर्ने वातावरण सिर्जना गर्न महरको आग्रह छ ।
टिप्पणीहरू