तालमेलका कुरा, आपसमै छुरा

तालमेलका कुरा, आपसमै छुरा

‘पाँच दलको बलियो गठबन्धनमार्फत एमालेलाई सोत्तर पार्ने’ भित्री उद्देश्य तर आफैँ शिकार हुने बाटोमा गठबन्धनका दलहरु लागेपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल जारी छ । विगतमा एमालेले जितेका पालिकाहरुमा यसचोटि एकीकृत समाजवादीको पहिलो दाबी लाग्ने र त्यसपछिको हकदार माओवादी हुने नीतिगत निर्णयमा टेकेर उम्मेदवारी तय गरिने सल्लाह थियो । तर, न कांग्रेसले, न माओवादीले नै समाजवादीले दाबी गरेका पालिकाहरु छोडे । फलतः धेरै ठाउँमा माधव नेपालमाथि पेलपाल भएको बताइन्छ ।

उम्मेदवारी फिर्ता लिने दिन र अघिल्लो रातसम्म पाँचदलीय गठबन्धनको कार्यदल छलफलमा जुट्दा केही केही पालिकामा को फिर्ता हुने, कसको उम्मेदवारी कायम हुने भन्नेबारे कुरा मिल्न सकेन । अहिले देशभर गठबन्धनका पाँच दलमध्ये तीन दलका धेरैजसो उम्मेदवार छन् । कतिपय ठाउँमा कांग्रेस र माओवादी, कतिपय ठाउँमा माओवादी र जसपा, कतिपय ठाउँमा जसपा र समाजवादीका मात्रै गठबन्धन बनेका छन् ।

शुरुमा केन्द्रीय तहबाट महानगर र उपमहानगरका १७ ठाउँमा समझदारी भयो । त्यो बाहेकका धेरै ठाउँमा तालमेल होला भनेर समाजवादीले कसैलाई उठाएन । अन्तिममा राष्ट्रियसभामा जस्तै एमालेका केही रिक्त पदमा समाजवादीको हक लागेन । ललितपुरको हकमा समाजवादीका नेताहरु प्रचण्डको निवासमै गएर समझदारी गरे तर कार्यान्वयन भएन । प्रचण्डसँगै कुरा गरेर महालक्ष्मी नगरपालिका (लुभूतिर) मा समाजवादीले नकुल थापालाई मेयर र उपमेयर माओवादीलाई दिने सहमति भयो तर माओवादीका स्थानीय नेताहरुले प्रचण्डले भने पनि नमान्ने भन्दै गठबन्धन भाँडिदिए ।

जबकि ललितपुर जिल्लाभरिमा समाजवादीको सबैभन्दा आशालाग्दो पालिका महालक्ष्मी थियो । त्यहाँबाट सांसद कृष्णलाल महर्जन, प्रदेश सांसद माधव पौडेलदेखि धेरै एमालेले समाजवादी रोजेका छन् । नगरपालिकाकी उपमेयर निर्मला थापासहित तीन जना वडाध्यक्ष समाजवादीतिर छन् । तर, त्यहाँ समाजवादीका लागि कांग्रेस र माओवादीले एक सीट पनि छाडेनन् । प्रचण्डसँगकै समझदारीअनुसार, गोदावरी नगरपालिकामा श्याम सिलवाललाई समाजवादीले उपमेयरमा उठायो तर त्यहाँ पनि माओवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएन । बागमती गाउँपालिकामा माओवादीले अध्यक्ष उम्मेदवार उठाएर समाजवादीलाई बाहिर राख्यो । महांकाल गाउँपालिकामा राजन बञ्जाराले उम्मेदवारी दिएका थिए ।

तर, अमृत तिम्सिनाको जोडमा बञ्जारा उम्मेदवारी फिर्ता लिन बाध्य भएको गुनासो पार्टी केन्द्रीय कार्यालयमा पुगेको छ । ललितपुर महानगरका केही वडा समाजवादीलाई दिन कांग्रेस तयारै थियो । तर, जहाँ–जहाँ समाजवादीको भाग लगाइएको थियो, त्यहाँ–त्यहाँ माओवादीले शुरुमै नोमिनेशन गरिदिँदा समाजवादी हेरेको हे¥यै भयो । यसरी जताततै माओवादीबाट समाजवादीलाई अप्ठेरो पारिएपछि प्रचण्ड र माधव नेपालबीच तीन–चार घण्टा कुराकानी भयो । निश्कर्ष केही निस्किएको छैन ।

काठमाडौं महानगरमा मेयर र उपमेयर शीर्ष नेताको तहबाट टुंगो लागे पनि वडाहरु भद्रगोल छन् । एकीकृत समाजवादीले आफू बलियो भएका काठमाडौंका ३, ७, ९, १५, १६ र २४ नम्बर वडा दाबी गरेको हो । त्यसमध्ये ३ का दिपक केसी कहिल्यै चुनाव नहारेका व्यक्ति हुन् । ७ का फेरि वडाध्यक्ष उठेका शुद्ध डंगोल, १५ का ईश्वरमान डंगोल र २४ का बालकृष्ण श्रेष्ठ उपमेयरमै प्रस्तावित थिए । तर, सबै वडामा कांग्रेसले सेटसहित उम्मेदवारी कायम राखेको छ । महानगरभरि जम्मा सात हजार भोट भएको माओवादीले पनि वडा–वडामा उम्मेदवारी दिन भ्यायो ।

काठमाडौंका नगरपालिकामध्ये पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनहरा र शंकरापुरमा उक्त पार्टी बलियो छ । त्यसमध्ये कागेश्वरी मनहराका मेयर कृष्णहरि थापाले समाजवादीमै सनाखत पनि गराएका थिए । तर, माधव नेपाल आफैँ लाग्दा पनि कांग्रेस र माओवादीले समाजवादीलाई मेयर दिन चाहेनन् । शंखरापुर (साँखु क्षेत्र) मा समाजवादीले एलपी श्रेष्ठलाई मेयरमा उठायो । त्यहाँ कांग्रेस, माओवादीका अलग अलग उम्मेदवार छन् ।

हेटौंडा उपमहानगर समाजवादीलाई दिएको नाममा बाँकी कुनै पनि पालिका उसलाई दिइएन । हेटौंडाको मेयरमा टिकट नपाएपछि समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी नै छाडिदिए । मीना लामालाई समाजवादीले उपमेयरका रुपमा अनुभवप्राप्त तामाङ समुदायकी महिला भनेर उम्मेदवार बनायो । उनी क्रिस्चियन समुदायकी हुन् । हेटौंडामा उक्त समुदायका आठ हजार मतदाता छन् । समाजवादीले मनहरि र कैलाश गाउँपालिकामा आफ्नै उम्मेदवारी दियो । उसलाई दिएको गाउँपालिका इन्द्रसरोबर हो । त्यो भनेको काठमाडौंसँग सिमाना छुट्टिने हुमाने भञ्ज्याङदेखि कुलेखानी हुँदै देउराली डाँडासम्म पाँचवटा वडा भएको गाउँपालिका हो ।

माओवादीको पेलपालका कारण धादिङको गजुरी नगरपालिकामा समाजवादी एक्लै चुनाव लड्ने तयारीमा थियो । त्यसका लागि माओवादीका तारा भण्डारी र गोविन्द लामिछानेले समाजवादीको टिकटमा चुनाव लड्ने भनिसकेका थिए । आफ्ना मान्छे समाजवादीले लैजाने भयो भनेर अन्तिममा दुवैलाई माओवादीले वडाध्यक्षमा टिकट दिएर रोक्यो । १ नं. वडामा तारालाई जित्न गाह्रो छ, ४ नं. वडा (गजुरी बजार) मा लामिछानेले सजिलै जित्ने अवस्था छ ।

माधव नेपालले शेरबहादुर र प्रचण्डसँग निक्कै जोड गरेको अर्को पालिका थियो, धनुषाको मिथिलाका लागि । त्यहाँ गठबन्धन हुँदा समाजवादीका सूर्य पुडासैनीले सजिलै चुनाव जित्ने अवस्था छ । तर, काठमाडौंमा मिलेको कुरा धनुषा पुग्दा भाँडियो । फलतः त्यहाँ समाजवादी, कांग्रेसका अलग–अलग र माओवादी र जसपा मिलेर अलग्गै उम्मेदवारी उठाएका छन् । समाजवादीले पुडासैनीलाई नै उठायो भने कांग्रेसले महेन्द्र महतो, माओवादी–जसपाबाट माओवादीका राजकुमार महतो उठेका छन् । त्यहाँ एमालेले राजाराम महतोलाई उठायो ।

सूर्यबाहेक सबै स्थानीय कोइरी समुदायको उम्मेदवार भएका कारण कोइरीको भोट बाडिँदा समाजवादी जित्ने सम्भावना छ । यदि, कांग्रेस र माओवादीले पूर्वबाट काठमाडौं जाने नाइट बसले भात खुवाउने ठाउँ लालगढ (वडा नं. ४) मा समाजवादीको राम्रो प्रभाव छ भनिन्छ । २७ सय मतदाता भएको उक्त वडामा जित्नेले ६ सय भोट कटाए हुन्छ । समाजवादीका संगठित सदस्यमात्रै पाँच सय भएको त्यहाँ पनि उसलाई छाडिएन । वडाध्यक्षमा तिलक लामा उठेका छन् ।

उता, वर्षमान पुनले रोल्पामा ‘मिलाउँछु–मिलाउँछु’ भन्दाभन्दै समाजवादीलाई एक्ल्याएको आरोप छ । कतिपय ठाउँमा माओवादी बरु एमालेसँग मिल्ने भयो, तर समाजवादीलाई कुनै ठाउँ छाडिएन । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आधा कांग्रेस एमालेसँग मिलेर चुनाव लडिरहेका छन् भने आधा कांग्रेस माओवादीसँग मिलेका छन् । समाजवादीले मेयर दावी गरेको थियो ।

तर, आधा कांग्रेस र माओवादीले दिएनन् । त्यसपछि समाजवादीले पत्रकार जीवन बिसीलाई उपमेयर उठायो । तर, त्यही पदमा एमालेले उम्मेदवारी नदिएपछि मेयर पनि एमालेले जित्ने खतरा हुँदा जीवनले उम्मेदवारी फिर्ता लिए । समाजवादीका कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका उपमहासचिव प्रकाश ज्वालाको जिल्ला हो त्यो । त्यहाँको कपुरकोट गाउँपालिका र सिद्धकुमाख गाउँपालिकामा समाजवादीले अध्यक्ष पायो । कालिमाटी गाउँपालिकाको उपाध्यक्ष र शारदा नगरपालिकाको उपमेयर पनि पायो । तर, बनगाड कुपिण्डेमा समाजवादीलाई मिलीमिली लखेटियो ।

फुटभन्दा खतरनाक हुने रहेछ गुट

स्थानीय तहको चुनावी रणनीति बनाउन चैत पहिलो साता बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा सातवटै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो क्षेत्रको वस्तुस्थिति र सम्भावित परिणामबारे रिपोर्टिङ गरेका थिए । सत्ता गठबन्धन हुँदा र नहुँदा एमालेले प्राप्त गर्ने फरक–फरक चुनावी परिणाम आकलन गरिएको रिपोर्टिङले एक्लै चुनावमा जाने दाबी गर्दै आएका अध्यक्ष केपी ओलीसहितका नेताहरूलाई उत्साहित पार्न सकेन । प्रदेश १ र बागमतीबाहेक अन्यत्र परिणाम अपेक्षित नआउने रिपोर्ट प्रस्तुत भयो ।

नेताहरूले बाहिर जे–जे दाबी गर्दै हिँडे पनि आन्तरिक बुझाइ भने पाँच दलको देशव्यापी गठबन्धन हुँदा एमालेका लागि परिणाम सुखद हुँदैन भन्ने नै थियो । त्यस्तो अवस्थामा पार्टीले राष्ट्रियसभाकै जस्तो परिणाम व्यहोर्ने खतरा देखेका उनीहरू राप्रपा नेपाललगायतका साना पार्टीसँग तालमेलको तयारीमा थिए । प्रदेशको रिपोर्टिंगले केपी ओलीको आत्मविश्वासलाई कमजोर बनाएको त थियो नै, सँगसँगै गठबन्धन दलबीच सिट भागबण्डामा कुरो नमिल्ने र तालमेल भाँडिने बुझाइले एकप्रकारको ढुक्कता पनि नेताहरूमा देखिन्थ्यो । तर, गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलेपछि एमाले नेताहरूले त्यसलाई चुनौतीका रूपमा लिए ।

उम्मेदवारी मनोनयनसँगै एमालेमा फेरि पुरानै उत्साह फर्किएको छ । कारण हो, सत्ता गठबन्धनका दलबीच देशव्यापी तालमेल नहुनु । गठबन्धन भएका ठाउँमा पनि यतिधेरै भद्रगोल देखिएको छ कि एउटै जिल्लामा कतै कांग्रेस–माओवादी, कतै माओवादी–समाजवादी, अनि कतै गठबन्धन बाहिरका दलसँग तालमेल । एमालेले लगभग सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दिंदा गठबन्धनका दलले न सबै ठाउँमा मिलेर एकल उम्मेदवार उठाउन सकेका छन्, न साझा ।

गठबन्धनको यस्तो कन्तबिजोग देखेर हौसिएको एमालेका लागि पनि चुनावी प्रतिस्पर्धा उति सहज भने देखिँदैन । एकातिर पार्टी फुटले संगठन तलैसम्म टुक्रिएको छ भने अर्कोतिर टिकट वितरणले असन्तुष्टि चर्काएको छ । ०७४ सालमा जस्तो राष्ट्रवादको नारा पनि अहिले छैन । पानीजहाज, रेल, घर–घरमा ग्यासको पाइपजस्ता चुनावअघि बाँडिने सपना यसपटक नबिक्ने पक्कापक्की नै छ । त्यसैले गठबन्धनले राष्ट्रिय सभामा जस्तै ‘क्लिनस्विप’ गर्ने अवसर जसरी गुमाएको छ, त्यसैगरी एमालेले पनि आन्तरिक एकता कायम गर्दै उम्मेदवारका आकांक्षीहरूको व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत नतिजा ल्याउने कम सम्भावना छ ।

माधव नेपालहरू बाहिरिएपछि एमालेमा केपी ओली शक्तिशाली हुनुहुन्छ र त्यहाँ कुनै गुट छैन भनिन्छ । सामान्यतयाः बाहिरबाट हेर्दा पनि त्यस्तै देखिन्छ । तर, टिकट वितरणसम्म आइपुग्दा गुटगत लडाइँ सतहमै प्रकट भएका छन् । एकजना एमाले नेताका अनुसार टिकटको लडाइँले यसअघिका चुनावमा भन्दा पनि चर्को लफडा यसपटक देखिएको छ ।

काठमाडौँपछि देशकै महत्वपूर्ण मानिने पोखरा महानगरमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीको टकरावका कारण एउटालाई दिएको टिकट खोसेर रातारात अर्कोलाई दिइयो । एमाले सचिवालय बैठकले शुरुमा दीपक पौडेललाई महानगरको टिकट दिएको थियो । तर, पौडेलले सुन चोरेको आरोपसहित पुरानो भिडियो सार्वजनिक भएपछि टिकट कृष्ण थापालाई दिइयो । यसो हुनुको मुख्य कारण अध्यक्ष ओलीको नजिक बन्ने प्रतिस्पर्धामा रहेका पृथ्वीसुब्बा र खगराजको गुटगत लडाइँ नै हो भनिन्छ ।

एउटै गुटभित्रको आन्तरिक लडाइँ महासचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेलको गृहप्रदेश लुम्बिनीमा पनि छरपष्टै देखियो । कुनैबेला शक्तिशाली नेकपाको शक्तिशाली महासचिव रहिसकेका विष्णुको बर्चश्व भएको लुम्बिनीमा यसपटक शंकर हावी भएका छन् । आफ्नै निर्वाचनक्षेत्र समेत रहेको बुटवलको मेयरमा पौडेलले आफूनिकटलाई टिकट दिन सकेनन् ।

बरु यसअघि उनी निकट भनिएका बाबुराम भट्टराईले शंकरतिर लागेर टिकट पक्का गरे । भनिँदै छ, विष्णु र शंकरको टकरावले केन्द्रमा अध्यक्ष ओलीसँग वैचारिक संघर्ष गरिरहेका घनश्याम भुसाललाई नसोचेको फाइदा भएको छ । ‘यो त बाहिर आएका केही प्रतिनिधि घटना मात्रै हुन्, पालिका–पालिका तहमा यस्ता असन्तुष्टि सयौंको संख्यामा छ,’ एक एमाले नेता भन्छन्, ‘धाँजा फाटेको छ ।’

एमालेमा यसपटक ‘कन्फर्म‘ गरिएका धेरैको टिकट अन्तिम समयमा खोसेर अर्कोलाई दिइएको पनि देखियो । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेकी सुनिता डंगोललाई एकाएक उपमेयरको टिकट दिएपछि अरु आकांक्षी हेरेको हे¥यै भए । सांगठनिक रूपमा एमाले निकै मजबुत रहेको काठमाडौँमा मेयर र उपमेयरका दर्जनौँ आकांक्षी थिए, जुन स्वाभाविक हो तर राजनीतिको अनुभव नै नभएकी डंगोललाई पार्टी प्रवेशसमेत नगराई अध्यक्ष ओलीको एकल निर्णयले टिकट थमाइएपछि त्यहाँ असन्तुष्टि चर्किएको छ ।

सिरहाको लाहान, महोत्तरीको लालबन्दी, मकवानपुरको थाहानगर लगायतका ठाउँमा एकजनाले पाइसकेको टिकट खोसेर अर्कोलाई दिइएको भन्दै उस्तै असन्तुष्टि छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा कांग्रेस छोडेर एमाले प्रवेश गरेका योगेन्द्रसिंह तामाङले हाताहाती टिकट पाए । उही दिन पार्टी प्रवेशका लागि काठमाडौँ आएका उनी भोलिपल्ट उम्मेदवारी मनोनयन दर्ता गराउन हेलिकप्टरमा नुवाकोट फर्किएका थिए । वीरगञ्जका विजय सरावगी, रंगेलीका दिलिप बगडिया, नेपालगञ्जका पशुपतिदयाल मिश्रा पनि हाताहाती मेयरको टिकट पाउने भाग्यमानी हुन् ।

टिकट वितरणको प्रष्ट मापदण्डको अभाव र कमिटीले गरेको निर्णय लागू नहुँदा पार्टीमा वर्षौँ त्याग गरेका पुराना नेताहरू रेटिनु परेको एमालेका असन्तुष्ट नेताहरू बताउँछन् । उनीहरूका अनुसार अध्यक्ष ओली एकलौटी हावी भएकाले यस्तो स्थिति बनेको हो । ओली आफैंले व्यक्ति–व्यक्तिसँग डिल गरेर टिकट बाँडेको उनीहरूको आरोप छ । ‘जहाँ सर्वसम्मत थियो, आकांक्षीहरूबीच पनि कुनै विवाद थिएन त्यहाँ कमिटीको निर्णयअनुसार नै भएको छ, जहाँ विवाद थियो र एकभन्दा बढीको नाम सिफारिस भएर आएको थियो त्यहाँ चैं अध्यक्षले नै रोज्नुभएको हो,’ एक नेता भन्छन् ।

यता, १० बुँदे वालाहरूको सदाबहार असन्तुष्टि पनि टिकट नपाएपछि थप चर्किएको छ । यसपालि उनीहरूको त सर्वनाशै भएको एमालेहरू बताउँछन् । ‘विगतका योगदान भन्ने कुरा त एकादेशका कथा नै भैहाल्यो नि !‘, उनै भन्छन्, ‘जसरी पनि चुनाव जित्ने नाउँमा कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएकाहरूलाई टिकटमा भेदभाव गरिएको छ । यसले परिणाममा असर गर्छ कि भन्ने चिन्ता हो ।’

बताइएअनुसार पार्टीमा फरक बिचार राख्नेहरूलाई चुनाव नजित्ने उम्मेदवारका रूपमा चित्रित गरेर हार्डकोर गुटको मान्छे खोजिएको हो । जस्तो, कीर्तिपुरमा अहिलेका मेयर रमेश महर्जन जित्ने सम्भावना भएको आकांक्षीको क्याटागोरीमा थिए । तर, उनले टिकट पाएनन् । ओलीलाई ‘बा’ भन्नेहरूको समूहभित्र पनि हार्डकोर पात्र छान्दै जाँदा महर्जन आउट हुनुपरेको बताइन्छ । १० बुँदेतिरका एक नेता भन्छन्, ‘पालिका–पालिकामा यहि रोग छ । गुटभित्र पनि उपगुट र त्यहाँ पनि कसको मान्छे भनेर कित्ताकाट गरिएको छ । राम्राले भन्दा पनि हाम्राले टिकट पाएका छन् । त्यसैले चुनाव जित्न उहाँहरूले भनेजस्तो सजिलो छैन ।’

टिप्पणीहरू