हिजो शनिबार विमान चढेर को कता ?
स्थानीय तहको निर्वाचनमा आयोजित कार्यक्रममा सम्बोधन गर्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भ्याइनभ्याइ छ । कतिपयले नियमित हवाइ उडानमा र कतिपयले हेलिकप्टर प्रयोग गरेको पाइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र केही नेताहरुले नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरेका छन् । सोही क्रममा हिजो बुद्ध एयरको काठमाडौं–जनकपुर उडानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित पाँच जना चुनावी सभामा सम्बोधन गर्न त्यसतर्फ जानुभएको थियो । उहाँ साँझ ६ बजे उक्त टोलीसहित काठमाडौं फर्कनुभएको हो ।
यति एयरको काठमाडौं–विराटनगर उडानमा बिहान साढे ८ बजे सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल त्यसतर्फ जानुभयो । परराष्ट्रमन्त्री डा. नारायण खड्का बुद्ध एयरको उडानमा बिहान पौने ९ बजे काठमाडौंबाट विराटनगर जानुभएको हो । बुद्ध एयरकै उडानमा भरतपुरबाट राज्यमन्त्री उमेश श्रेष्ठ बिहान पौने ९ बजे काठमाडौं आउनुभयो ।
यति एयरलाइन्सको उडानमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी बिहान ९ बजे काठमाडौं आउनुभएको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमा गठबन्धन दलका अन्य नेता र काँग्रेसका शीर्ष नेताहरुसहित बुटवल जानुभयो भने हिजै उहाँ त्यहाँबाट जनकपुर पुगेर साँझमा काठमाडौं फर्कनुभएको हो ।
यती एयरलाइन्सको काठमाडौं–भैरहवा उडानबाट पूर्वमन्त्री दिपक बोहरा हिजो बिहान १० बजे त्यसतर्फ जानुभयो भने हिजै बुद्ध एयरको उडानमा बिहान साढे १० बजे राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन काठमाडौंबाट पोखरा जानुभएको थियो ।
उता सौर्य एयरको उडानमा काठमाडौंबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधी पौने ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला बुद्व एअरको उडानमा हिजो बिहान साढे ११ बजे भैरहवा जानुभएको छ । त्यसैगरी बंगलादेशका भूतपूर्व प्रधानसेनापति जनरल अबु बेलाल हक हिजो बिहान साढे ११ बजे काठमाडौं आउनुभएको हो ।
हिजो फिस्टेल एअरको हेलिकप्टरमा नेपाली काँग्रेसका महामन्त्री गगनकुुमार थापा हिजो बिहान पौने १ बजे भोजपुर जानुभएको छ । बुद्ध एयरको काठमाडौं–भरतपुर उडानमा बिहान साढे ३ बजे पूर्वगृहमन्त्री रामबहादुर थापा बादल त्यसतर्फ जानुभएको हो ।
श्री एयरको उडानमा भैरहवाबाट शहरी विकासमन्त्री रामकुमारी झाक्री पौने ५ बजे काठमाडौं आउनुभएको छ । यति एयरलाइन्सको उडानमा काठमाडौंबाट हिजो साँझ पौने ५ बजे पूर्वप्रधानमन्त्री झलनाथ खनाल भद्रपुर पुग्नुभएको छ ।
हिजो कतार एअरवेजको उडानमा दोहाबाट नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेल साँझ पौने ७ बजे काठमाडौं उत्रनुभएको छ ।
टिप्पणीहरू