निर्वाचन स्थानीय तहकाे, प्रतिष्ठा राष्ट्रियस्तरका नेताको
स्थानीय तहको निर्वाचनमा मतदानका लागि अब पाँच दिन बाँकी छ । मतदानको मिति नजिकिंदै जाँदा देशैभर चुनावी माहौल गर्माएको छ । स्थानीय सरकारको नेतृत्व हात पार्न राजनीतिक दलका नेता–कार्यकर्ता अभियानमा होमिएका छन् । अबको पाँचौं दिनमा देशभरबाट ३५ हजार बढी जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।
निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ठूला पाँच पार्टीहरुबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनविरुद्ध एमालेले पनि अर्को गठबन्धन बनाएर मैदानमा उत्रिएकाले यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक हुने निश्चित छ ।
सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले अधिकांश स्थानमा तालमेल गरेर उम्मेदवार उठाएका छन् भने एक्लै चुनाव लडेर पाँचदलीय गठबन्धनलाई ‘सोत्तर’ पार्ने आक्रामक अभिव्यक्ति दिँदै आएको एमाले पनि अन्ततः राप्रपा, लोसपा, परिवार दलजस्ता साना पार्टीसँग मिलेर मैदानमा उत्रिएको छ । अघिल्लो चुनावमा दलहरुले पाएको मत र पछिल्लो राजनीतिक समीकरण हेर्दा करिब ९० प्रतिशत तहमा यी दुई गठबन्धनबीच नै प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले ’प्रतिगामी’ एमालेलाई ‘साइज’ मा ल्याउन तालमेल गरिएको बताउँदै मतदातासँग मत मागिरहेका छन् । एमाले पनि विकास र सम्मृद्धिका पुरानै एजेण्डा अघि सारेर गाउँ पसेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरिरहेका छन् । तर, दुबैतिरका शीर्ष नेताहरूलाई आफ्नै जिल्लामा पार्टीलाई निर्वाचनमा विजयी गराउन सकस पर्ने देखिएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन दुई कारणले असहज छ । पहिलो, गठबन्धन दलहरूबीच तालमेल प्रयास सफल नहुँदा सबै एक्ला एक्लै निर्वाचनमा होमिएका छन् । दोस्रो, जिल्लामा प्रभावशालीमध्येका निवर्तमान पार्टी सभापति कर्ण मल्लले नेपाली काँग्रेस (विपी) ब्युँताएर एमालेसँग चुनावी तालमेल गरेका छन् ।
यी दुई कारणले गृहजिल्ला डडेल्धुरामा पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन देउवालाई सकस हुने अवस्था देखिएको हो । देउवापत्नी आरजु देउवा राणाका पछिल्ला अभिव्यक्तिले पनि डडेल्धुरामा काँग्रेसलाई विजयको झण्डा गाढ्न सजिलो नरहेको अनुमान गरिएको छ ।
गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि गृहजिल्ला चितवनमा आफ्ना उम्मेदवारलाई निर्वाचन जिताउन सहज नरहेको धेरै कोणबाट विश्लेषण भइरहेको छ । चितवनका सातै स्थानीय तहमा पाँचदलीय गठबन्धनले चुनावी तालमेल त गरेको छ । अघिल्लो चुनावको परिणाम हेर्दा गठबन्धनका उम्मेदवारहरुले सहज जीत निकाल्नुपर्ने हो । तर, सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरमै गठबन्धनका उम्मेदवारहरु ढुक्क छैनन् ।
भरतपुरमा प्रचण्डपुत्री तथा वर्तमान मेयर रेणु दाहाल गठबन्धनका तर्फबाट मेयरको साझा उम्मेदवार हुनुहुन्छ । तर, काँग्रेसबाट बागी उम्मेदवारी परेकाले रेणुमाथि चुनौती थपिएको हो । अर्कोतिर एमालेले राप्रपासँग तालमेल गरेको छ । जसका कारण प्रचण्डको प्रतिष्ठासमेत गाँसिएको भरतपुरमा गठबन्धनका उम्मेदवारलाई सजिलै नतिजा हात पार्न कठिन रहेको विश्लेषण गरिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको गृहजिल्ला मोरङको विराटनगर महानगरपालिकामा पनि गठबन्धनले तालमेल गरेको छ । तर, माओवादी केन्द्रकी नमिता न्यौपाने र जसपाकै उमेश यादव बागी उम्मेदवार छन् । यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादीले तालमेल गरेर यादवलाई प्रमुख र न्यौपानेलाई उपप्रमुखमा उठाएका थिए । यसपटक पनि सोही पदमा बागी हालेका उनीहरु एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका छन् । त्यहि कारण यादवलाई गृहजिल्लामा आफ्नै छोरा जिताउन चुनौती थपिएको हो ।
जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा गठबन्धन दलहरूबीच तालमेल हुन् सकेको छैन । त्यसैलाई लिएर असन्तुष्टी जनाइरहनु भएका भट्टराईलाई पनि आफ्नै संगठनको बलमा पार्टीका उम्मेदवार जिताउन चुनौती छ । गठबन्धनकै अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा पनि गठबन्धन दलहरूबीच तालमेल हुन नसक्दा चुनावी परिणाम उहाँका लागि प्रतिकूल हुने धेरैको अनुमान छ ।
नेपालको गृहक्षेत्र चन्द्रपुर नगरपालिकामा काँग्रेसबाट सरोज काफ्ले, एकीकृत समाजवादीबाट बाबुराम दाहाल, माओवादी केन्द्रबाट हरि पौडेल र एमालेबाट शिव आचार्य प्रमुख पदका उम्मेदवार छन् । अन्य स्थानीय तहमा पनि त्यस्तै छ । जसले गर्दा नेपाललाई गृहजिल्लामा आफ्ना पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउन ’फलामको च्युरा चपाउनु सरह’ हुने विश्लेषण भइरहेको छ ।
गठबन्धनको अर्को घटक जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृहजिल्ला बाग्लुङ्गमा उहाँको बलियो पकड छ । तर, त्यहाँ पनि गठबन्धन दलहरूबीच तालमेल भएको छैन । ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै चुनावी मैदानमा होमिएका गठबन्धनका उम्मेदवारलाई एमालेले चुनौती दिने देखिएको छ । त्यसकारण केसीलाई गृहजिल्लामा पार्टीका उम्मेदवार जिताउन ठूलै कसरत गर्नुपर्ने अवस्था बनेको बताइन्छ ।
सत्ता गठबन्धन दलहरूमा मात्र होइन, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि त्यस्तै अवस्था छ । ओलीकै गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन छ । यसले ओलीलाई पार्टीका उम्मेदवारहरूलाई निर्वाचन जिताउन गठबन्धन प्रमुख चुनौती हुने देखिन्छ ।
झापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि गृहजिल्ला हो । राप्रपाले पहिले जितेको कचनकबल गाउँपालिकामा काँग्रेस–एमालेबीच तालमेल छ । ठूला दुई पार्टीको तालमेलले लिङ्देनलाई पनि आफ्ना उम्मेदवारहरूलाई जिताउन चुनौती थपिएको छ ।
टिप्पणीहरू