ललितपुरको महालक्ष्मीमा कसले मार्ला बाजी ?
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीब्र बढेको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को–लुभु–लामाटार–मानेदोभान–पनौती हुँदै बिपी लोकमार्गको नेपालथोक जोड्ने सडक सोही नगरपालिकाको मध्यभाग भएर गएका कारण चुनावी परिणाम हात पार्न दलहरुले चुनावी अभियानलाई व्यापक बनाएका हुन् ।
२०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले महलक्ष्मीको मेयर जितेका थिए । श्रेष्ठले काँग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले छ हजार पाँच सय मत पाउँदा श्रेष्ठले सात हजार ६४ भोट ल्याएका थिए ।
ललितपुरका अन्य स्थानीय तहमा जस्तै यो नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । मेयरमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल मैदानमा उत्रिएका छन् । एमालेले हरिगोविन्द श्रेष्ठलाई अघि सारेको छ ।
महालक्ष्मीमा एमाले विभाजनको असर तुलनात्मक रुपमा बढी परेको अनुमान गरिएको छ । तर पनि प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार कट्टेल र एमालेका श्रेष्ठबीच नै हुने देखिन्छ । उपमेयरमा पनि नेपाली कांँग्रेसकी लक्ष्मी महर्जन र एमालेबाट उठेकी विना सुवेदी केसी नै मुख्य प्रतिस्पर्धी हुन् ।
नगरपालिकाको मेयरमा अन्य र उपमेयरमा पाँच जनाले उम्मेदवारी दिएका छन् । तर, गठबन्धन र एमालेका बाहेक अन्य उम्मेदवारहरु खासै प्रतिस्पर्धामा देखिएका छैनन् ।
गठबन्धनबाट मेयरका साझा उम्मेदवार कट्टेलले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे । एमाले फूटको असर, पाँचदलीय गठबन्धन र आफ्नो एजेण्डाका कारण जीत निश्चित भएको उनको भनाइ छ । कट्टेलले ग्वार्कोमा फ्लाइओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वःरोजगार, पर्यटन प्रवद्र्धनलगायतका एजेण्डा अघि सारेका छन् ।
‘नगरबासीको इच्छाअनुसार नै नगरपालिकाको विकासका लागि मैले मेयरको उम्मेदवारी दिएको हुँ । विद्यमान सम्पूर्ण समस्यालाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो’, उनी भन्छन् ।
बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका पाँच गाविस इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर नगरपालिका घोषणा भएको हो । २०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजारभन्दा बढी मतदाता छन् । २०६८ को जनगणनामा मतदाताको संख्या २५ हजार मात्र थियो ।
टिप्पणीहरू