एमाले कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई भकुरे
धनुषामा एमाले कार्यकर्ताले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारमाथि निर्घात कुटपिट गरेका छन् । सबैला नगरपालिका वडा नम्बर–४ मा राप्रपाका तर्फबाट वडा सदस्यका उम्मेदवार रहेका समशुल राइन मियामाथि नेकपा एमालेका कार्यकर्ताले सांघातिक हमला गरेका हुन् ।
मियालाई एमाले कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र उनले नटेरेपछि सांघातिक हमला भएको राप्रपाले जनाएको छ । उम्मेदवार मियाले पार्टीको पक्षमा दृढतापूर्वक प्रचार गर्ने अडान लिएपछि आक्रोशित एमाले कार्यकर्ताले उनीसहित परिवारका सात जनामाथि कुटपिट गरेको भन्दै राप्रपाले घटनाको निन्दा गरेको छ ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेका छन् ।
यता, रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर–१ मा आफ्नो पार्टीका वडाध्यक्षका उम्मेदवार लिलिबिर बिसीलाई चुनाव प्रचारका क्रममा माओवादी कार्यकर्ताहरुले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिनेलगायतका गतिविधि गरेको भन्दै श्रेष्ठले आपत्ति जनाएका छन् ।
टिप्पणीहरू