गुप्ततन्त्रको फेरोमा गणतन्त्रको गुह्यगाथा
– पुरुषोत्तम लम्साल
इशापूर्व सातौं शताब्दीमै भारतको वैशालीमा लिच्छवी राजतन्त्र ढलेर गणतन्त्र स्थापना भइसकेको रहेछ । इशापूर्व छैटौंदेखि इस्वीको चौथो शताब्दीसम्म आइपुग्दा लिच्छवी वंशको प्रतिष्ठा र चमकधमकपूर्ण साम्राज्य रहेन । सूर्यवंशीय इक्ष्वाकूका पुत्र विशालबाट निर्माण भएको भनिएको वैशालीको कुलीनवंशीय गणतन्त्रमा स्थानीय मुखियाहरूले बराबर अधिकार बाँडफाँड गर्दागर्दै ढल्यो । त्यही वंशबाट अज, दशरथ, राम त जन्मिए तर व्यवस्था केही सय वर्षपछि ढलेन मात्र शासनबाट वंश नै विलुप्त भयो ।
पृथ्वीनारायण शाहको जय गाउँदागाउँदै ज्ञानेन्द्र शाहले उरन्ठेउलो एवं अपरिपक्व राजनीतिबाट शासनको तुष्टि लिन चारैतिर खेताला राजनीतिकर्मी नियुक्त गर्दा जे परिणाम आयो त्यही परिणाम ऊ बेला लिच्छवीहरूले भोगेछन् । त्यसैले त हामीले ज्ञानेन्द्र शाहलाई ‘कठै !’ भन्न पाएका छौं ।
त्यसपछि चन्द्रगुप्त प्रथमबाट गुप्त साम्राज्य जन्मियो । तर, निर्माताहरू जति नै चक्रवर्ती भए पनि २४ राजाले शासन चलाएपछि त्यो पनि ढल्यो । शासक त थिए नि, समुद्रगुप्त थिए, पृथ्वीमाथि प्रभाव जमाउँछु भन्ने चन्द्रगुप्त द्वितीय वा विक्रमादित्य थिए, कुमारगुप्तजस्ता विशाल साम्राज्य निर्माण गर्ने महत्वांकाक्षी पराक्रमी पनि थिए । तर ढल्यो नि त्यो पनि !
चतुर र साहसी त जंगबहादुर पनि थिए । सत्तामा वंश परम्परा तिनले पनि चलाएकै हुन् । तर, भ्रुण जर्नेल र भ्रुण महाराज जन्माउने त्यो शैली पनि त टिकेन ।
समृद्धिको स्वर्णयुग ठानिने गुप्तकालीन व्यवस्था संघात्मक स्वरूपको हुँदाहुँदै पनि प्रान्तीय शासनमा सामन्त नै थिए । कुलीनहरूकै बोलवाला थियो । आ–आफ्नो क्षेत्रमा स्वतन्त्रताको उपयोग गर्दागर्दै त्यहाँ पनि छोटा राजाहरूको राज उस्तै थियो । तब न ढल्यो !
राज्य प्रशासनको त्यो सामन्ती शैलीले शासनलाई स्थिर बनाउँदैन भनेर उहिल्यै देखिएको हो । अझ केन्द्रमा निर्बल, सिद्धान्तहीन, सत्तालम्पट वर्गको प्रभुत्व भएका बेला त्यस्ता व्यवस्था मुठ्ठीभरका छोटे महाराजहरूको हातमा एकाध वर्ष त टिक्ला तर दीर्घकालसम्म टिक्दैन । यो हिजोको वा आजको राजनीतिको नैतिक शिक्षा होइन कम्तीमा दुई हजार वर्ष पुरानो संघीय औ प्रान्तीय व्यवस्थाको नैतिक शिक्षा हो ।
जन्मदर्ता, मृत्यु दर्ता, लाश जलाउने दाउरामा समेत कर ठोकेर स्थानीय सत्ताको तर मारिरहेको अहिलेको हाम्रो व्यवस्थाका नयाँ महाराजहरूको अनुहारभित्र तपाईंलाई मगधको नन्दवंशका विद्रुप पात्र धनानद्य वा गुप्तकालीन सामन्तहरूको झल्को आउँदैन ?
हामीले पछिल्लो १५ वर्षको सत्ता अभ्यासलाई केलाउने हो भने हामी त्यही प्राचीन अभ्यासकै वरिपरि रहेर राजनीतिको फन्को लाइरहेका छौं । चकटी महाराजहरू, पिर्के मुखियाहरू, गलैंचे माननीयहरू गौंडागौंडामा बनाइएका भ्यू टावरबाट यत्रतत्र सर्वत्र देखिने व्यवस्थाका भोक्ता हौँ हामी । विधि र थितिलाई उपरी संरचनामा बसेर हैकम लाद्ने राजनीतिक मुखियाका स्वर्गमा जनताले अनुभव गरिरहेको नरक व्यस्थाका भोक्ता पनि हौं हामी ।
ऊ जमानामा गाई दान हुन्थ्यो, एउटा कुलीनले अर्को कुलीनलाई आफूसँग भएका बँधुवा श्रमिक दानमा दिन्थे । अहिले राजनीति र सत्ताको उपरी संरचनामा बसेकाहरूले स्थानीय, प्रदेश र केन्द्रमा माननीय दान गर्ने चलन त हो । यहाँ त दान पनि होइन नेताको दर्जा दिएर मान्छेको कारोबार न भइरहेको हो !
सारमा, यो व्यसाय वा कारोबार बनेको तन्त्रको सार त हो ।
दुई हजार वर्षअगाडि पनि यस्तै रहेछ व्यवस्था । गुप्त प्रशासनमा पनि राज्यका वा प्रान्तका मुख्यमुख्य वा लाभका उँचा पद वंशाणुगत थियो । अहिले हामीले भन्ने गरेको नेपोटिज्म त्यहाँ पनि रहेछ । परिवार र हुक्के बैठकेहरूको संरक्षणवाद त्यहाँ पनि रहेछ । । पारिवारिक भागबण्डा गुप्त कालमा रहेछ, राणाकालमा थियो, महेन्द्रकालीन पञ्चायती व्यवस्थामा थियो र प्रचण्डकालीन गणतन्त्रमा पनि त उस्तै छ । त्यहाँ थियो, यहाँ पनि छ । अस्ति रहेछ, हिजो थियो र आज पनि छ ।
एकछिन गम खानुहोस् । अहिलेको हाम्रो व्यवस्थाभित्र हालीमुहाली गरिरहेका कम्तीमा एक दर्जन राजनीतिक मुखियाका भाइभारदार राज्यको शक्तिशाली ओहोदामा कहाँ–कहाँ रहेछन् भनेर केलाउनुहोस् । एक दर्जन मुखियाहरूको सञ्जालले राज्यको एक सय २० स्थानमा हैकम जमाइरहेको भेट्नुभएन भने मलाई भन्नुहोस् । तिनीहरू लोकतन्त्रको लिगेसीबाट होइन परिवारवाद र संरक्षणवादको लिगेसीको बाटोबाट आएका होइनन् भनेर भन्न सक्नुहुन्छ ।
मेरा बाजेले घ्यू खाएका थिए भन्दै जनतालाई आफ्नो हात सुँघ्न बाध्य पार्ने तन्नम चरित्रका विरासतवाला वर्गमा तिनीहरू पर्दैनन् भन्न सक्नुहुन्छ ? सक्नुहुन्न नि ! तथाकथित लोकतन्त्रभित्र अलोकतान्त्रिक प्रक्रियाबाट थापना गरिएका ती अनुहारको कुरूप र घीनलाग्दा लाग्दैनन् तपाईंलाई ? सफेद पोशाकमा ठाँटिएर हिँड्ने ती अनुहार देखेर दिमाग दिङमिङ हुँदैन तपाईंको ? मेरो त हुन्छ ।
साँच्चै भनेको एकपटक आरजु खानदान, देउवा कोटरी, पुष्पकमल दाहाल गण, केपी ओली गण, माधवकुमार नेपाल कोटरी, झलनाथ खनालप्रवृत्ति हेर्दा ध्रुवभूति वा हरिषेणहरू हाम्रो आजको व्यवस्थामा पनि स्पष्ट देख्न सकिन्छ । अझ हामीले यहाँ व्यापारिक वा व्यावसायिक साझेदारहरूको कुण्डली त खोजेका नै छैनौं ।
अर्थात्, हाम्रो व्यवस्थाका हरिषेणहरू चिन्न उदय गिरी पहाड पुगेर शिला केलाउनै पर्दैन प्रतिनिधिसभा, राष्ट्रिय सभा, राजदूत, विभागका मुखिया, समिति संयोजकका अनुहार र तिनका मालिकको अनुहार केलाउनु नै पर्याप्त हुन्छ । अझ टाढा नगएर स्थानीय सत्ताका नयाँ सामन्त जो पिर्के सलामीका अभियन्ताको रुपमा वर्णित छन्, तिनीहरूको छनोट र प्रतिस्थापन हेर्दा तपार्इंलाई पनि उदेक लाग्न सक्छ । किनभने, मलाई त लाग्छ ।
गुप्त प्रशासनमा पनि स्थानीय सत्ता थियो । स्थानीय सत्तापिच्छे सम्राट् थिए । सम्राट्ले व्यवस्थाअनुकूल होइन व्यक्ति वा आफूअनुकूल मुखिया नियुक्त गर्थे । उनीहरू आफूलाई महाराजको दर्जामा राख्थे र सोहीअनुसार सुखसुविधा, भोग र विलासको चाहना र कामना गर्थे । आफ्नो अधिकार क्षेत्रका जनतालाई करको भारी थोपरेर जनता कज्याउनपर्छ भन्थे । र, कज्याउँथे पनि ।
जन्मदर्ता, मृत्यु दर्ता, लाश जलाउने दाउरामा समेत कर ठोकेर स्थानीय सत्ताको तर मारिरहेको अहिलेको हाम्रो व्यवस्थाका नयाँ महाराजहरूको अनुहारभित्र तपाईंलाई मगधको नन्दवंशका विद्रुप पात्र धनानद्य वा गुप्तकालीन सामन्तहरूको झल्को आउँदैन ? मलाई त आउँछ । डोजनरतन्त्रको बोलवाला भएको राजनीति ठेकेदारहरूको बिर्ता बनिरहेको देखेपछि धनानद्यको शासनको प्रतिच्छायाँ हाम्रो संघीयताभित्र देखिनु के नौलो भयो र ? हुन्छ र ?
यसो हे¥यो ऊ बेला ब्राह्मणहरूलाई भूमि दान दिने चलन थियो ।
कबिलाका मुखियालाई भूमि र गौदान दिने चलन थियो । कसरी हुन्छ आफू मातहतका कठपुतलीलाई सामन्त बनाउने अभिष्ट हुन्थ्यो त्यो बेलाको दानप्रणालीमा वा दानतन्त्रमा । हाम्रो व्यवस्थाको अभ्यासमा दानको स्थान ठेकेदारहरूले लिएजस्तै अभ्यास रहेछ त्यतिबेला । ऊ बेला खानी तथा करमा आसेपासेलाई बिष्टि अथावा बेगार उठाउन दिन चलन थियो अहिले आधुनिक ठेक्कापट्टातन्त्रमा टेण्डर आह्वान गरेर अनुकूल कम्पनीलाई स्रोतमाथि हैकम जमाउने अधिकार दिइन्छ । यति र उतिको जन्म ओलीगार्कीकै उपज न हो । यत्ति होइन कुरा ?
तर यसले आर्थिक एवं राजनीतिक रूपमा राज्य वा स्थानीय तन्त्र वा शासनलाई बुख्याचा बनाउँदोरहेछ भनेर हामीले दुई हजार वर्षअघिको अभ्यासबाट कहिल्यै शिक्षा लिएनाँै । बुख्याचा अर्थात् त्यो प्राणहीन छ, श्वासहीन छ र पनि त्यसले आम मान्छेलाई तर्साइरहन्छ । सग्लो मगज भएकाहरूलाई बिझाउने यो लोकतन्त्र अलौकिक छ । छैन ? बुख्याचाहरू उभ्याएर लोकतन्त्रको जीत भएको मान्न अभ्यस्त हाम्रो नियतिको प्रारब्ध यही मात्र होइन है !
भागबण्डा र संरक्षणवादको उच्चतम अभ्यासले निर्बल र नाकाम व्यक्ति केन्द्र तथा प्रान्त औ प्रदेशको आसनमा पुग्छ । शासनमा पुग्छ । यसले तत् तत् सत्ताको एकता र स्थिरता कायम राख्न सक्दैन । र, अस्थिरताबीचबाट भ्रष्ट ऐंजेरु पलाउँदै फैंलँदै गएपछि अराजक व्यवस्थाले गति लिन्छ । त्यो अराजक व्यवस्थाले उत्पन्न गर्ने निराशाले देखाउँछ राज्यको उन्नति, प्रगति र समृद्धि सम्भव हुँदैन । हामीले मधेशमा यही देख्यौं, बाग्मतीमा देख्यौं, लुम्बिनीमा पनि यही भोग्यौं, कर्णालीमा पनि यही ब्यहो¥यौं र कोशीमा पनि राजनीतिको यही कहर खेप्यौं । व्यवस्था त शेष नै छ तर भोग्न बाँकी, देख्न बाँकी अनीति शेष छैन ।
उदाहरणका लागि गुप्तकालीन जुनागढको चित्र हेरौँ । परिवारको उत्कर्षको त्यो अभ्यासभित्र चक्रपालित यस्तो अनुहार भएर आउँछन् मलाई अहिले हाम्रा व्यवस्थाका नायकले खल्तीखल्तीबाट टिकट बाँडेका नातागोताको उत्पात झल्को आउँछ । र, निराशाको लाभा भित्रभित्र जम्मा गरेर बसेका ऊ बेलाका जुनागढवासी र अहिलेको एक्कासौं शताब्दीको नयाँ पुस्ताको याद आउँछ । भयो के ? जुनागढ उदाहरण भो ।
बाग्मती प्रदेशको वा मधेश प्रदेशको वा कोशी प्रदेशको इत्यादी अभ्यासहरू केलाउँदा तपाईंलाई त्यही गुप्तकालीन दृष्यको झल्को आउँदैन ? काँग्रेस, एमाले, माओवादी, लोसपा, जसपा, समाजवादी आदिका हर्कतहरू केलाउँदा तपाईंलाई त्यही गुप्तकालको अभ्यासको झल्को आउँदैन ? यिनीहरूकै कारण हामीभित्र नयाँ नयाँ हुणका भ्रुणहरू विकास भइरहेको छ भन्ने लाग्दैन ?
स्कन्दगुग्तको शेषपछि (४६७ इस्वीसम्वत) मगध मगध रहेन । अयोग्य अधिकारीहरू, शासन व्यवस्थाको संघात्मक स्वरूप र सत्ताका उच्च पदहरूमा अनुवांशिक बाँडफाँडले एवम् प्रान्तीय प्रशासकहरूलाई दिइएको विशेषाधिकारले त्यो पनि गल्र्यामगुर्लुम्मै ढल्यो । ढल्नु नै थियो, ढल्यो । स्थानीय निर्वाचनको कोलाहलका बीच लोकतन्त्रमाथि कोटरीतन्त्रले अहिले मच्चाइरहेको हालीमुहाली हेर्दा लाग्छ भ्यागुताहरू मनतातो पानीको आनद्य उठाइरहेका छन् र सत्ताको पोखरीमा विलासको निद्रा सुतिरहेका छन् ।
तर, एक दिन पानी उम्लन्छ । निश्चित तापक्रम नपुगी पानी उम्लँदैन । त्यो पानी उमाल्न निराशा पनि जम्मा गर्नपर्छ, घृणा पनि जम्मा गर्नपर्छ, आवेगहरू पनि जम्माा गर्नपर्छ । जुनबेला पानी उम्लन्छ, त्यसपछिको परिणाम तपार्इंलाई थाहा छँदै छ ।
टिप्पणीहरू