काठमाडौँको जेठो चुनावी अभ्यास र बालेनको प्रयास !
-विराट अनुपम
नेपालमा चुनाव भन्नासाथ २०१५ कै आमनिर्वाचन सम्झन्छन् । तर, त्यो नेपालको प्रथम चुनाव हैन । प्रथम चुनाव २००४ सालमा भएको थियो । त्यो त स्थानीय चुनाव थियो । राणा प्रधानमन्त्री पद्मसमशेरले गराएको काठमाडौँ नगरको चुनाव थियो । यो हिसाबले काठमाडौँको चुनावी विरासत नेपालको राष्ट्रिय चुनावी विरासतभन्दा ११ वर्ष जेठो हो । जेठो चुनावी इतिहास बोकेर होला काठमाडौँले नयाँ–नयाँ शक्तिलाई ठाउँ दिने गरेको छ ।
०१५ सालमा चार सिट जित्ने नेपाल कम्युनिष्ट पार्टीलाई एक सिट दिने काठमाडौँ नै हो । चाहे नेकपा (एमाले)लाई पत्याएर दिएको क्ल्विन स्विप होस् वा नेकपा (माओवादी)ले पाएको पहिलो चुनावमै काठमाडौँको ग्राण्ड स्वागत, काठमाडौँले केही गर्छु भन्नेलाई मौका दिँदै आएको छ । काठमाडौँ उपत्यका, काठमाडौँ जिल्ला मात्रै हैन काठमाडौँ महानगरले पनि नयाँ गर्न खोज्नेलाई केही मौका दिएकै छ । चाहे साझा पार्टीबाट रवीन्द्र मिश्रलाई दिएको प्रतिनिधिसभाको चुुनावी मत होस्, चाहे रञ्जु दर्शना र किशोर थापालाई दिएको मत, काठमाडौँले नयाँलाई मनग्ये मत दिएको छ ।
अहिले यही मेसोमा काठमाडौँमा नयाँ अनुहारको रूपमा आएका छन् । बालेन शाह । औपचारिक नाम बालेन्द्र शाह र ‘लौरो’ चुनाव चिह्न पाएका बालेनले आम सञ्चार र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाएका छन् । रञ्जुजस्तो युवती भएको कोणमा उनको चर्चा भएको छैन । उनको चर्चा अवकाशप्राप्त कर्मचारी किशोर थापाको कोणबाट पनि चलेको छैन । बालेनको चर्चा उनका मुद्दाको कारण भएको छ । उनले लिएका विकासे अवधारणाका आधारमा भएको छ ।
डिभिजनल इञ्जिनियर भएको नाताले बालेनले आफ्नो पढाइलाई स्थानीय सरकारसँग जोड्दै आएका छन् । उनी स्थानीय सरकारले गर्ने पूर्वाधार विकासका काममा ७० प्रतिशत काम सिभिल इञ्जिनियरिङ क्षेत्रको भएको भन्दै आफू त्यसमा अब्बल भएको भन्छन् । नेपालजस्तो अल्पविकसित देशमा सिभिल इञ्जिनियरिङ गरेकाहरू आएमा विकासको राम्रो जग बस्ने र अरू प्राविधिकले तलमाथि गर्न नपाउने बालेनको तर्क छ ।
सम्पदा क्षेत्रको संरक्षणमा पनि बालेनको उत्तिकै सक्रिय चासो देखिएको छ । रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुनेदेखि काठमाडौँका नेवाः कार्यक्रम र जात्राहरूमा उनी रम्दै आएका छन् । काठमाडौँको नेवाः सभ्यता जोगाउने र प्रवद्र्धनमा उनको देखिने सक्रियता छ । अरु दलका उम्मेदवारको मुखमा नआउने नेवाः सभ्यताका जरा कुरा उनले गर्दै आएका छन् । काठमाडौँलाई धुलो मुक्तदेखि काठमाडौँको कुहिने फोहोरबाट आसपासमा जिल्लामा तरकारी फलाएर काठमाडौँमा खरिद गर्ने र प्लास्टिकमा अलकत्रा मिसाएर सडक पिच गर्न सकिने उनका योजना छन् । काठमाडौँका खोलानाला फल्चा ढुंगेधारा जोगाउने वातावरणमैत्री विकासमा उनको देखिने चिन्ता र चासो छ ।
काठमाडौँमा इँटाको सडक बनाउने कुरा गरेर बेग्लै पहिचानको कुरा गरेका छन् । यी केही झलक मात्रै हुन् । बालेनले चुनाव जित्लान् नजित्लान् त्यो काठमाडौँवासीको कुरा हो । तर, यत्ति कुराचाहिँ प्रष्ट छ कि बालेनले जस्तो सभ्यता, पूर्वाधारदेखि वातावरण जोडिएका आकर्षक मुद्दा बोक्न मूलधारका एमाले, कांग्रेसजस्ता दल सफल छैनन् । उनीहरूले छाडिदिएको राजनीतिक एजेन्डाको रिक्ततालाई पूरा गर्न बालेन आएका छन् ।
उनले युवालाई तानिरहेका छन् । युवा पुस्तामा ज्यादै लोकप्रिय हिपहपका स्टार भएकाले युवा पुस्ता तान्न उनलाई अतिरिक्त सहजता भएको छ । उनको चुनावी अभियानलाई धेरै सेलिब्रेटीले खुलेर साथ दिएका छन् । क्रिकेटरदेखि सिनेकर्मी उनको अभियानमा जोडिएका छन् । बालेनको अन्तर्वार्ता लिनेहरू बढेका छन् । चिन्दै नचिनी उनको अभियानमा जोडिनेहरूको आयतन बढेको छ । उनका मुद्दामा सार्वजनिक चिया बहस बढ्दो छ । बालेनले देशभरका सबै स्वतन्त्र उम्मेदवारको भन्दा धेरै चर्चा पाएका छन् ।
काठमाडौँमा बालेनहरू आउनु एक कोणमा स्वतन्त्र उम्मेदवारको क्रेज मान्न सकिन्छ । स्वतन्त्र उम्मेदवारका कुरामा मतदाता आकर्षिक हुने मान्न सकिन्छ । त्यससँगै चुनावमा मूलधारका पार्टीले दिन नसकेको एजेण्डाको विरक्तलाग्दो अवस्था बालेनको क्रेजले पनि देखाउँछ । यदि, बालेनका मुद्दा यसअगाडि नै विभिन्न दलले सार्वजनिक गरेका भए उनको चर्चा कम हुने थियो । दलहरूले बालेनका जस्तै मुद्दामा सार्वजनिक मन्थन गरे पनि उनको चर्चा कम हुने थियो ।
बालेनजस्तो पढेलेखेका उम्मेदवारले आफूलाई प्रमाणित गरेका भए उनको चर्चा कम हुने थियो । तर, दलहरूले यी सबै नगरेपछि बालेन चर्चित भएका छन् । युवा पुस्ताले आफ्नै पुस्ताको उमेरको शासक हेर्न चाहनु पनि बालेनको चर्चाको अर्काे कारण बन्न पुगेको छ । यदि, दलले बालेनजस्तै उमेदवार उभ्याएका भए पनि बालेनको चर्चा हुन्थेन । प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहदेखि २५ वर्षअगाडि नै मेयर भएका केशव स्थापित पुनः रेसमा आएपछि मतदाताले नयाँपन खोज्न नयाँ अनुहार हेर्ने क्रममा बालेनमा आफ्नो माग देखेका छन् । त्यसकै प्रतिक्रिया उनले पाएको चर्चा हो । उनले पाएको मान्यता हो । उनले पाएको समर्थन हो ।
रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान हुँदै माओवादीलगायत साना दललाई जित्ने मत ल्याएर प्रमाणित पाँच वर्षअगाडि नै गरेकी थिइन् । रञ्जुभन्दा धेरै मत ल्याएका एमाले र कांग्रेसलाई यसपटक बालेनले आच्छु–आच्छु पार्न सक्छन् । बालेनले ल्याउने दाबी गरेको ९० हजार ८ सय ३५ मतले उनको आत्मविश्वास देखाउँछ । उनी युवा मतदातासँग कत्ति आत्मविश्वास लिएर बसेका छन् भन्ने देखाउँछ । ३ लाख २ सय ४२ मतदाता भएको काठमाडौँ महानगरमा यत्ति मत जनताले पत्याउँदा नआउने पनि हैन ।
यदि, बालेनले साँच्चिकै प्रमाणित गरेर देखाए भने त चमत्कार नै हुनेछ । देखाएनन् र सम्मानजनक मत ल्याएर हारे पनि मूलधारका दललाई त्यसले अर्को चुनावमा असर गर्न सक्छ । त्यसका लागि दलले कि त बालेनजस्तै उम्मेदवारहरू उठाउनुपर्छ । कि बालेनका जस्तै मुद्दा ल्याएर राजनीतिक मूल प्रवाहमा बहस गर्नुपर्छ ।
टिप्पणीहरू