यो चुनाव, वैद्यलाई बहिष्कार कि तनाव ?
चुनाव बहिष्कार गर्ने औपचारिक निर्णय गरेको मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले देशभरिको चुनावमा भाग लिएको देखिएको छ । वैशाख पहिलो साताको स्थायी समिति बैठकपछि ‘विशेष परिस्थितिमा चुनाव उपयोग गर्न सक्ने’ निर्णय भएको तर सो निर्णय सार्वजनिक नगरिएको वैद्य समूहनिकट एक नेताले बताए ।
सोहीअनुसार उदयपुर जिल्लाको त्रियुगा नपा, गाईघाटमा उक्त समूहकी पूर्वकेन्द्रीय सदस्य अम्बिका रेग्मी मेयर पदमा प्रत्यासी छन् । उनी महिला संगठनकी केन्द्रीय उपाध्यक्ष हुन् । उनलाई आफूहरुले समर्थन गरेको नेकपा उदयपुर इञ्चार्ज विवेकले बताएका छन् ।
त्रियुगाकै उपमेयर पदमा विप्लव खेमाले रामकृष्ण सदालाई उठाएको छ । उनलाई वैद्य समूहको समर्थन छ । त्यसैगरी गुल्मी जिल्लाको सत्यवती गापाबाट सत्तारुढ गठबन्धनमा समावेश भएर वैद्य समूहले उपाध्यक्षमा तेजकुमारी थापालाई उठाएको छ । थापा रुख चिह्नबाट लडेकी छन् ।
त्यसैगरी बाग्लुङ जिल्लाको जयमुनी नपा–७ मा वैद्य समूहबाट वडाध्यक्षमा सुजन ढुङ्गाना प्रत्यासी छन् । उनलाई चुनाव चिह्न कैंची परेको छ । त्यसैगरी वैद्य समूहका स्थायी समिति सदस्य ओम गुरुङको गाउँ ताराखोला गापा– १ मा थमबहादुर गुरुङ अध्यक्षसहित पूरै प्यानल चुनावमा भाग लिएको छ ।
त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा वैद्य समूहका जिल्ला इञ्चार्ज सागर उप्रेतीकी श्रीमती बबिता आचार्य मेयर (प्रमुख) पदकी प्रत्यासी छिन् । उनलाई विप्लव नेतृत्वको समर्थन रहेको सो पार्टीका सेक्रेटरी वाटर घलानले बताए ।
टिप्पणीहरू