मधेशमा यसरी थुप्रिँदैछ मत
देशभर गठबन्धन गरी निर्वाचनमा भाग लिने पाँचदलीय नीति असफल भएको प्रदेश हो, मधेस । महानगरमा वीरगञ्ज, उपमहानगरमा जनकपुर र जीतपुर सिमराबाहेक कतै पनि पक्का गठबन्धन छैन ।
बरु, गठबन्धनको हल्ला भएपछि मधेसमा झण्डैझण्डै हराएको एमालेको उपस्थिति बाक्लिन थालेको छ । गठबन्धनका कारण कतिपय दावेदार उम्मेदवारीबाटै बञ्चित हुने भएपछि पार्टी छाड्नेको लस्कर नै लाग्यो । यसो गर्दा एमालेले संगठन बनायो, अन्यत्रबाट मान्छे चोर्न पायो ।
यही स्थितिको फाइदा माओवादीले पनि उठायो । तर, मधेस प्रदेशमा मधेसवादीकै जनमत भने घट्दैछ । कांग्रेसको मत स्थिर छ । त्यहाँ उपेन्द्र यादव नेतृत्वको जसपाको स्थिति महन्थ ठाकुर नेतृत्वको लोसपाभन्दा राम्रो हुने अवस्था छ । तर, मधेसी दलप्रति जनताको विश्वास टुटेको छ ।
महन्थको जनमत यसै पनि बिग्रिएको, त्यसमाथि केपीसँग तालमेल गर्दा राम्रो मानिएको छैन । बरु, पहिलोपटक निर्वाचनमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो उपस्थिति जनाउने भएको छ । जनमतले पनि मधेसी दलको भोट काट्ने हो, जित्ने होइन ।
विगतमा एमालेले मधेसका राजमार्ग क्षेत्रमा चुनाव जितेकै हो । यसपटक विभिन्न पार्टीका ‘रिजेक्टेड माल’ एमालेमा गएका छन् । त्यसबाट उसले केही शक्ति आर्जन गर्ने अनुमान गरिँदैछ ।
टिप्पणीहरू