रसुवाका महँगा मतदाता, हेलिकप्टर चढेर गाउँमा

रसुवाका महँगा मतदाता, हेलिकप्टर चढेर गाउँमा

रसुवाको लाङटाङ क्षेत्रका मतदाताहरु मतदान गर्न हेलिकप्टर चढेर घर फर्किएका छन् । पर्सी हुने स्थानीय तहको निर्वाचनका लागि गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङ क्षेत्रमा पर्ने लाङटाङ, क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकप्टरमा गाउँ फर्केका हुन् ।

क्यान्जिनका ग्याल्बु लामाका अनुसार २० जनाभन्दा बढी स्थानीय हेलिकप्टर चढेर घर फर्किएका छन् । सडक मार्गको पहुँच नपुगेका कारण सो क्षेत्रका नागरिक यसअघि पनि हेलिकप्टर चढेर मतदान गर्न घर जाने गरेका थिए ।

लाङटाङ पुग्न काठमाडौंबाट स्याफ्रुबेसीसम्म सवारी साधन र स्याफ्रुबेसीबाट पैदल जानुपर्छ । काठमाडौंबाट स्याफ्रुसम्म बसमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेपछि मात्रै लाङटाङ क्षेत्र पुगिन्छ ।

लाङटाङ ट्रेकिङको लागि प्रख्यात छ । सो क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

टिप्पणीहरू