चुनावको तयारी लगभग अन्तिममा
भोलि हुने स्थानीय तह निर्वाचनको तयारी लगभग अन्तिममा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी केही स्थानमा आज समापन हुने आयोगले जनाएको हो ।
राजधानीमा पनि स्थानीय तहको निर्वाचनका निम्ति धमाधम काम गरिँदैछ । सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदानस्थलमा खटिसकेको आयोगले जानकारी दिएको हो । काठमाडौंको चाबहिल पानीट्याङ्की ‘क’ का मतदान अधिकृत दशरथ धमलाले आवश्यक तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।
नयाँ मतदाताहरुलाई नमूना मतपत्रमा भोट हाल्न सिकाएको र मतदाताहरुले सिक्न चाहेका निर्वाचनसम्बन्धी अन्य जानकारी पनि दिइएको उहाँ बताउनुहुन्छ । स्थानीय तहको निर्वाचनका लागि बाँकी तयारी सकेर मतदातालाई सुरक्षित, भयरहित र निष्पक्ष रुपमा भोट हाल्न पाउने व्यवस्थाका लागि काम गर्ने मतदान अधिकृत धमलाको भनाइ छ ।
निर्वाचन आयोगले एउटा मतदान केन्द्रका लागि उपलब्ध गराएका पाँच कर्मचारी र अन्य तीन जना स्वयंसेवक सहितको टिमले अहिले चुनावका लागि बाँकी तयारीका कामहरु गरिरहेका छन् ।
टिप्पणीहरू