ललितपुरमा चुनाव गराउने हाकिमहरुमाथि राजनीतिक आवद्धताको आरोप,तत्काल हटाउन माग
ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटी र सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पाण्डेयविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचन चाहने नेपाली नागरिकको समूहले सत्ता गठबन्धनलाई सहयोग पुग्ने गरी काम गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध आयोगमा उजुर हालेको हो ।
उजुरीमा मुख्य निर्वाचन अधिकृत सिवाकोटी नेपाली काँग्रेस र सहायक निर्वाचन अधिकृत पाण्डेय नेकपा माओवादी निकट रहेको प्रमाणसहित उल्लेख गरिएको छ । पाण्डे माओवादी केन्द्रको केन्द्रीय कानून विभागका सदस्य र उक्त पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको संस्थापक अध्यक्षसमेत रहेको दाबी छ ।
समूहका अनुसार माओवादीको कानुन विभागमा उनको नाम बी. पाण्डेय भनी उल्लेख भएकाले आयोगलाई सम्बन्धित दलमार्फत् झिकाई स्पष्ट पार्न भनिएको छ । सहायक निर्वाचन अधिकृत पाण्डेयले मतगणनाजस्तो संवेदनशील कार्यमा चलखेल गरेको आरोपसमेत लगाइएको छ । सत्ता गठबन्धनलाई जिताउन र नेकपा एमाले, राप्रपालगायतका दलहरुलाई हराउन जनशक्ति व्यवस्थापन,मतगणना कार्यमा चलखेल र अनुचित साठँगाँठ गरेको व्यहोरा उजुरीमा उल्लेख छ ।
त्यसैगरी,मुख्य निर्वाचन अधिकृत सिवाकोटीले पाण्डेयको राजनीतिक आस्थाको बचाउ गरी कार्यालयका सबै महत्वपूर्ण कामको जिम्मा दिएकोमा आपत्ति जनाइएको छ । राजनीतिक पार्टीहरुसँग प्रतिबद्ध कार्यकर्ताहरुलाई मुख्य निर्वाचन अधिकृत र उनी मातहतको सहायक निर्वाचन अधिकृत बनाएर निष्पक्ष निर्वाचन सम्भव होला ? उजुरीमा प्रश्न गरिएको छ ।
उजुरी पत्रमा लेखिएको छ, ‘के यसले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष,धाँधलीरहित बनाउने आयोग, प्रमुख निर्वाचन आयुक्तको प्रतिबद्धता पूरा होला ? माओवादी केन्द्रलाई लाभ पुग्ने गरी काम गर्दा निष्पक्ष निर्वाचन सम्भव छ ?,’ समूहले प्रतिप्रश्न गरेको छ ।
राजनीतिक आस्था र सत्ता गठबन्धनसँगको निकटताबारे छानबिन गरी मुख्य र सहायक निर्वाचन अधिकृतको पदबाट हटाउन समेत माग गरिएको छ । त्यस्तै, निजामती सेवा ऐन २०५० बमोजिम कारबाही गरी निष्पक्ष निर्वाचनको सुनिश्चितताको मागसमेत गरिएको छ ।
यता,सहायक निर्वाचन अधिकृत पाण्डेय माओवादी केन्द्र निकट रहेको कुरा अभिलेखहरुबाट समेत पुष्टि भएको उल्लेख छ । उनले सामाजिक सञ्जालमा हालेको तस्बिरहरुले नै त्यसको पुष्ट्याईं गरेको भन्दै स्क्रीनसट पनि पेश गरिएको छ ।
पाण्डेयको राजनीतिक संलग्नता पुष्टि हुने आधारहरुको रुपमा उजुरीमा भनिएको छ,‘ सर्वोच्च अदालतबाट निजको राजनीतिक आस्था र संलग्नताबारे पूर्व जानकार भई निजको नाम सर्वोच्च अदालत तथा न्याय परिषद्बाट निर्वाचन अधिकृतको रुपमा सिफरिस नगरिएको ।’
मुख्य निर्वाचन अधिकृत सिवाकोटी समेत नेपाली काँग्रेस निकट रहेको र सत्ता गठबन्धनलाई सहयोग पुग्ने कार्य गरिरहेको भन्दै विभिन्न राजनीतिक दल र सञ्चार माध्यमहरुलाई बोधार्थसमेत दिइएको छ ।
बहुदलीय ब्यवस्थामा हरेक ब्यक्तिको आ-आफ्नो राजनैतिक आस्था हुने गर्छ तर त्यो कुरा जनमत परीक्षण गर्ने बेला दुरुपयोग हुनु हुँदैन भन्ने मान्यता राख्ने गरिन्छ ।
टिप्पणीहरू