त्यो निर्वाचनका लागि एमालेले बनाएका कार्ययोजना

त्यो निर्वाचनका लागि एमालेले बनाएका कार्ययोजना

पार्टी केन्द्रीय कमिटीको तेइसौं बैठकले संविधानसभा निर्वाचनको सुनिश्चितता र बहुमतको प्रत्याभूति गर्न योजनाबद्ध, व्यवस्थित र प्रभावकारी तयारीलाई अगाडि बढाउने उद्देश्यका साथ तयार पारेको कार्ययोजना निम्नानुसार रहेको छ:

सहमतिको प्रयासको निरन्तरता सम्बन्धमा:
हाम्रो पार्टीले संविधानसभा निर्वाचनलाई आमसहमतिका आधारमा सम्पन्न गर्नुपर्ने र यसमा व्यापक राजनीतिक सहभागिता अनिवार्य हुने अडान आरम्भदेखि नै राख्दै आएको हो । तदनुरूप नै संविधानसभा निर्वाचनका लागि गरिएका विद्यमान प्रबन्ध र प्रक्रियासँग असहमत दलहरूसँग सहमति जुटाउन द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय प्रयासलाई अगाडि बढाउँदै आएको तथ्य पनि सर्वविदितै छ । वार्ताको लामो श्रृंखलापश्चात् साउन ३१ गते उच्चस्तरीय राजनीतिक समिति र संघीय लोकतान्त्रिक मोर्चाबीच पाँचबुँदे सहमति भएको छ, जसमा मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनलाई सक्रिय सहभागितासहित सफल पार्ने, विगतको २४० निर्वाचन क्षेत्र यथावतै राखी समानुपातिकतर्फ २३५ कायम गरी संविधानसभा सदस्य संख्या ५८५ बनाउने, मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगलाई केही समय थप्न आग्रह गर्ने, संविधानका आधारभूत सिद्धान्तको बारेमा सहमति कायम गर्ने, उच्चस्तरीय राजनीतिक समितिमा मोर्चा पनि सम्मिलित हुने आदि विषय समावेश छन् ।

जनसम्पर्क र जनआधार निर्माणसम्बन्धी कार्ययोजना
जेठ ३ मा मदन–आश्रित स्मृति दिवसलाई सन्दर्भ पारेर शुरु गरिएको एकमहिने संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान सम्पन्न भएको छ । पार्टीको अग्रसरतामा विद्यमान राजनीतिक अन्योल समाप्त गरी मुलुकलाई संविधानसभाको नयाँ निर्वाचनतर्फ डो¥याउन, राजनीतिक दलहरूको सहभागितामा भयरहित वातावरणमा स्वतन्त्र, निष्पक्ष निर्वाचन सम्पन्न गराउन, निर्वाचनबाट नेकपा (एमाले) लाई बहुमत प्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्न र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको सुनिश्चितता गर्ने उद्देश्यका साथ अघि बढाइएको उक्त अभियान कतिपय सीमा र कमजोरीका बाबजुद सफल भएको निश्कर्ष केन्द्रीय कमिटीको बैठकले निकालिसकेको छ । विगतमा सञ्चालित अभियानका अनुभव तथा समीक्षालाई समेत दृष्टिगत गरी निर्वाचनको तयारीलाई घनीभूत बनाउने गरी ‘मतदाताका बीचमा नेकपा (एमाले)’ नामक नयाँ अभियान अघि सारिएको छ । यस अभियानअन्तर्गत निम्न कामहरू सम्पन्न गरिनेछन्:

मतदाताकेन्द्रित घरदैलो अभियान:
निर्वाचन आयोगले प्रकाशित गरेको फोटोसहितको मतदाता नामावलीका आधारमा मतदाताकेन्द्रित अभियान सञ्चालन गर्ने । यसले राजनीतिक शक्ति सन्तुलनको वास्तविक स्थितिको आंकलन गर्न, पार्टीको संगठनात्मक काम र निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यसका लागि गाउँमा वडा र नगरका हकमा टोलआधारित योजना कार्यान्वयन गर्ने ।

तटस्थ मतदाताकेन्द्रित विशेष योजना:
लगत संकलनका क्रममा तटस्थ देखिएका मतदाताहरूको स्थिति विश्लेषण गर्ने र उनीहरूलाई पार्टीको पक्षमा ल्याउन आवश्यक योजना बनाउने ।

मतदाता सुरक्षा योजना:
अहिलेदेखि नै आफ्ना पक्षका मतदाताको सुरक्षाको विशेष योजना बनाउने र अन्य दलको पक्षमा देखिएका मतदाताहरूको विश्लेषण गरी तदनुरूपको गतिविधि अघि बढाउने । स्थानीय स्थितिअनुरूप प्रचारात्मक कामलाई सम्बन्धित दलका कमी–कमजोरीहरूमा केन्द्रित गर्ने ।

पाटी कमिटी र सदस्यको परिचालन:
यस अभियानअन्तर्गत प्रत्येक पार्टी कमिटी, जनवर्गीय संगठन र पाटी सदस्यलाई संगठन विस्तार र निर्वाचन परिचालनको ठोस योजनासहितको जिम्मेवारी प्रदान गर्ने । त्यसक्रममा स्थानीय कार्यकर्ता र संगठित सदस्यहरूलाई घर–परिवार किटान गरेर जिम्मेवारीसमेत तोक्ने । मूल्यांकन र अभिलेखका योजना बनाउने ।

मतदानकेन्द्रित कमिटीहरूको निर्माण:
मतदान केन्द्रको सुरक्षा र परिचालनसमेतलाई ध्यानमा राखेर पार्टी र जनसंगठनका कमिटीहरू गठन र परिचालनको योजना तयार गर्ने । यसअन्तर्गत पार्टीको आमभेलाका साथै विशेषगरी महिला, दलित, युवा, विद्यार्थी, बुद्धिजिवी तथा अन्य स्थानीय विशेषताअनुरुपका समुदाय र वर्ग लक्ष्यित भेला तथा प्रशिक्षण कार्यक्रमहरूको आयोजना र सोही तहका कमिटीहरूको सञ्जाल तयार गर्ने ।

निर्वाचनकेन्द्रित सुरक्षा योजना:
निर्वाचनमा मतदाताको सुरक्षा र पार्टीको चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी स्वयंसेवक गठन गर्ने । यसका लागि पार्टीको योजना र अगुवाइमा अनिवार्य रुपमा मतदानकेन्द्रित युवा, विद्यार्थी, मजदुर, महिला, खेलाडी र अन्य पार्टी सम्बद्ध जनसंगठनमा आबद्ध युवालाई स्वयंसेवकका रुपमा परिचालनको योजना बनाउने । सम्बन्धित तहको पार्टी कमिटीको योजना र निर्णयका आधारमा प्रत्येक निर्वाचन आवश्यकताअनुसार जिल्ला, क्षेत्रीय र नगर तथा गाउँस्तरका युवा स्वयंसेवक समूह गठन गर्ने ।

निर्वाचन परिचालन कमिटी गठन:
यस अभियानअन्तर्गत प्रत्येक गाविस र नगरमा वडा तहका निर्वाचन परिचालन कमिटी गठन गर्ने । यसरी गठित कमिटीअन्तर्गत महिला, दलित, युवा, बुद्धिजीवी र स्थानीय विशेषतामा आधारित वर्ग र समुदायका अलग अलग परिचालन टोलीहरू समेत निर्माण र ठोस योजनासहित परिचालन गर्ने ।

विशेष क्षेत्रको परिचालन:
निर्वाचन परिचालन अभियानमा सहयोग पुग्ने गरी विद्यालय व्यवस्थापन समिति, वन, खानेपानी, सिञ्चाइलगायतका विभिन्न प्रकारका उपभोक्ता समितिहरू, सामाजिक संघ संस्थाहरूलगायत सरोकारवाला संगठनहरूमा आबद्ध पार्टी सदस्यहरूको भेला आयोजना गरी निर्वाचन अभियानमा परिचालन गर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा कर्मचारी र शिक्षकको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने ।

स्वतन्त्र जनमत संकलन:
राजनीतिक रुपमा नखुलेका पार्टी सम्बद्ध बौद्धिक व्यक्तिहरूको सहयोगमा वास्तविक जनमत आंकलनको योजना बनाउने ।

सतर्कता र निगरानी: निर्वाचनमा खट्ने वा त्यसलाई असर पुर्याउनसक्ने प्रशासक, सुरक्षा निकाय र अन्य सम्बद्ध पक्षहरूको स्थिति बुझ्ने र उनीहरूलाई नकारात्मक हुन नदिने गरी योजना बनाउने । साथै, निर्वाचनमा आधारित रहेर प्रमुख प्रतिस्पर्धीहरूका गतिविधिको जानकारी राख्ने र तदनुरूपको प्रचार र परिचालनको योजना तयार गर्ने ।

अभियानको समयावधि:
जिल्ला कमिटीको योजनामा मतदातालाई लक्ष्यित गरी अभियान सञ्चालन गर्ने । तराई÷मधेसका हकमा केन्द्रीय नेतृत्वको विशेष सहभागितामा यो अभियान सञ्चालन गर्ने ।

अभियानमा परिचालित हुने जनशक्ति:
अञ्चल समन्वय कमिटीका संयोजकसँगको परामर्शमा जिल्लाले जिल्लाभन्दा माथिको जनशक्तिसमेत खटाउन सक्नेछन् । त्यसरी खटाइएका प्रतिनिधिहरूका बारेमा केन्द्रीय सचिवालयलाई लिखित जानकारी गराउनु पर्नेछ ।

निर्वाचन अभियानमा १ केन्द्रीय टोली र ५ क्षेत्रीय टोली परिचालित गरिनेछ । केन्द्रीय टोलीमा प्राविधिकसहित १८ देखि २० जना कलाकार रहनेछन् भने प्रत्येक क्षेत्रीय साँस्कृतिक टोलीमा प्राविधिकसहित १२ देखि १५ जनासम्म सहभागी हुनेछन् । त्यसैगरी नाटकका १४ वटा टोली परिचालित हुनेछन् । नाटकको प्रत्येक टोलीमा ८ देखि १० जनासम्म कलाकार समावेश हुनेछन् । यसअनुसार केन्द्रीय टोलीमा २० जना, क्षेत्रीय टोलीमा ७५ जना र १४ नाटक टोलीमा १४० जना कलाकारसहित २३५ कलाकारहरू परिचालित हुनेछन् । विभिन्न विषयमा विचार गोष्ठी, छलफल र बहस कार्यक्रम सञ्चालन गर्न सञ्चालक विशेषज्ञहरूका ५ वटा टोली ५ विकास क्षेत्रमा परिचालन गरिनेछ । त्यस्तै बहुभाषिक कवि गोष्ठी, लोककथा वाचनलगायतका कार्यक्रम गर्न विभिन्न भाषिक समुदायमा काम गर्ने व्यक्तित्वहरूलाई परिचालन गरिनेछ ।

उम्मेदवार छनोटको प्रक्रिया र मापदण्ड:
पार्टी स्थायी कमिटीले देहायबमोजिमको उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड तय गरेको छ । सोहीअनुसार २० गतेभित्र उम्मेदवारको नामावली सिफारिस पठाउनुहुन मातहत कमिटीलाई निर्देशित गरिन्छ । प्राप्त सिफारिसमाथि व्यापक छलफल गरेर स्थायी कमिटीले उम्मेदवारहरूको अन्तिम नामावली तयार गर्नेछ र पाटी केन्द्रीय कमिटीको आगामी बैठकबाट यसबारे निर्णय गरिनेछ ।

उम्मेदवारको योग्यता:
– कानुनद्वारा अयोग्य नठहरिएको
– पार्टी, जनता र राष्ट्रप्रति निष्ठावान
– पार्टीको अनुशासन र मर्यादाका निम्ति समर्पित
– पार्टीबाट भएको निश्कासन तथा निलम्बनजस्ता अनुशासनात्मक कारवाहीमा परेको भए कारवाही पूरा गरी ६ महिना व्यतित गरेको
– मुलुकको संविधान, कानुन र सामाजिक नैतिकता प्रतिकूल हुने कुनै कार्य नगरेको
– संविधान तथा कानुन निर्माणका सम्बन्धमा ज्ञान तथा अनुभव भएको
– संविधानसभा सदस्यको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्नसक्ने
– आर्थिक तथा नैतिक आचरण राम्रो भएको, पार्टीमा बुझाउनुपर्ने लेवी तथा बक्यौता बा“की नरहेको
– जनतामाझ लोकप्रिय

(भदौ १५, २०७०)

टिप्पणीहरू