भारतीय प्रधानमन्त्रीको स्वर्गद्वारी जाने सम्भावना पातलियो
भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदी लुम्बिनीपछि स्वर्गद्वारीको दर्शन गर्न जाने कार्यक्रम रोकिने भएको छ । हिजोसम्म पक्का रहेको उक्त भ्रमण आज नहुने भन्दै भारतीय सुरक्षा अधिकारीहरु तर्केका छन् यद्यपि एसपिजीको यौटा टोली भने रेक्कीका निम्ति अहिले त्यतै केन्द्रित छ ।
अब प्रधानमन्त्री मोदीको साढे ४ घण्टे भ्रमण लुम्बिनीमा मात्र केन्द्रित हुने स्थिति छ ।
भारतबाट भ्रमणस्थलको सुक्ष्म सुरक्षा अध्ययन गर्न आएका ४२ जना एसपिजी कमाण्डोहरु हिजै भैरहवा पुगेका छन् । आज लैनचौरस्थित भारतीय दूतावासबाट “र” का अनिलकुमार गिरी,बिनय आनन्द,नवीनकुमार,करन बन्सलसहित पाँच जना अधिकृत त्यहाँ पुगेका छन् ।
यसबीच प्रधानमन्त्री मोदीले भ्रमणमा प्रयोग गर्ने चार वटा गाडी पनि त्यता पुर्याइसकिएको छ । भारतीय सुरक्षा टोलीले विभिन्न निकायसँग भ्रमणपूर्व छलफल र तयारी गरिरहेको छ ।
नेपालको तर्फबाट लुम्बिनी विकास क्षेत्रभित्रको परिसरमा चार वटा हेलिप्याड रातारात बनाइएको छ । ती हेलिप्याड सबै भारतीय प्रधानमन्त्री मोदी र उनको टोलीले प्रयोग गर्ने हेलिकप्टरको निम्ति मात्रै रातारात बनाइएको हो । हेलिप्याड अन्तर्राष्ट्रिय मापदण्डको बनेको लुम्बिनी विकास कोषले जनाएको छ ।
पछिल्लो कार्यक्रम तालिकाअनुसार प्रधानमन्त्री देउवाले उक्त दिन बिहान ९ बजे भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । तर विमानस्थलमा त्योभन्दा झण्डै छ घण्टा अगावै कुवेतको अल जजिरा एअरवेजले अवतरण र उडान गर्ने छ । जजिराको विमान बिहान पौने २ बजे अवतरण र साढे ३ बजे यताबाट उडान गर्ने तालिका छ ।
प्रधानमन्त्री देउवाले त्यसपछि लुम्बिनीमा बनाइएको इन्टरनेशनल बुध्दिष्ट कन्फरेन्स हल उद्घाटन गर्ने कार्यक्रम छ । हलको हालसम्म उद्घाटन नगरिएकाले पहिले हल उद्घाटन गरेर त्यसपछि मात्र भारतीय प्रधानमन्त्रीसँगको कार्यक्रम उक्त हलमा गरिने योजना बनाइएको हो ।
भारतीय प्रधानमन्त्री मोदी दिउँसो १२ बजेदेखि १ बजेसम्म लुम्बिनी आइपुग्ने कार्यक्रम छ । उहाँले साढे ४ घण्टा लुम्बिनीमा बिताउने कार्यतालिका छ । प्रधानमन्त्री देउवाले भारतीय समकक्षीको सम्मानमा पवन प्यालेसमा दिवा भोज आयोजना गर्ने बताइएको छ ।
त्यतिञ्जेलका लागि हाम्रा प्रधानमन्त्री लुम्बिनीको होक्के वा कासाइमा बस्ने भनिए पनि होटलको औपचारिक टुंगो लागिसकेको छैन । त्यही बीचमा नेपाल र भारतबीच द्विपक्षीय सम्झौता र कुराकानी गर्ने कार्यक्रम छ । प्रोटोकलबमोजिम ती सम्झौता होटल वा लुम्बिनी भित्रको हलमध्ये कहाँ गर्ने भन्नेवारे छलफल अझै भइरहेको छ ।
उक्त छलफलको निम्ति सेना,विशेष सुरक्षा दस्ता,विशिष्ट व्यक्तिको सुरक्षा टोली हिजो नै लुम्बिनी पुगेको छ । दुवै देशका त्यस्ता विशेष टोलीले सरकार प्रमुख र राष्ट्र प्रमुखको सुरक्षाको विशेष अनुगमन र नियमित अध्ययन गरिरहेको हुन्छ ।
टिप्पणीहरू