काठमाडौंका सबै उम्मेदवारको मतदान सकियो

काठमाडौंका सबै उम्मेदवारको मतदान सकियो

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरलगायत देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । नेकपा (एमाले) र सत्ता गठबन्धनका सबै उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

महानगरमा प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा–१६ र अर्का उम्मेदवार केशव स्थापितले वडा–२८ बाट मतदान गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट कामपा प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा–१६ स्थित युवक माविबाट मतदान गरेकी हुन् ।

एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवारी दिएका स्थापितले वडा–२८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका छन्। विवेकशील साझाबाट कामपा प्रमुखको उम्मेदवारी दिएकी समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यू मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिएका बालेन साहले वडा–९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गरेका हुन् ।

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा–१२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिएकी सुनिता डङ्गोलले वडा–२१ बाट मतदान गरेकी हुन् ।

टिप्पणीहरू