हिजो उम्मेदवारको छोरा मारियो,अब छानवीन हुन्छ

हिजो उम्मेदवारको छोरा मारियो,अब छानवीन हुन्छ

हिजो ३० गते सम्पन्न निर्वाचनमा उदयपुरको कटारी-१० सोरुङछब्बिसेको कालिका माध्यमिक विद्यालयमा भएको हत्याकाण्डको छानवीनका लागि उच्च स्तरीय आयोग गठन गर्ने निर्णयका साथ सुरक्षा निकाय सम्मिलित सर्वदलीय बैठक सम्पन्न भएको छ । सो बैठकले मृतक बीरबहादुर कटुवालको परिवारलाई उचित क्षतिपूर्ति र घाइते मोहनबहादुर श्रेष्ठलगायत सम्पूर्ण सुरक्षाकर्मीको उचित उपचार खर्च तथा क्षतिपूर्ति नेपाल सरकारबाट उपलव्ध गराउन भन्दै घटनालाई सामसुम पारिएको छ । यसका साथै दोषीलाई कारवाही गर्दै निर्वाचनका बाँकी कामहरुलाई अघि बढाउने निर्णयसमेत भएको छ ।

“जनताले सुरक्षाकर्मीलाई घेरेर राखेका छन् भने मृतकको लाश पनि उठाएका छैनन् ।”

सो घटनामा ‘खुकुरी हातमा लिएपछि छप्काउँ छप्काउँ लाग्ने नेपाली कथाको पात्र कृष्णेझैं पेस्तोल भिरेपछि पड्काउँ पड्काउँ लाग्ने उन्माद एक सुरक्षा अधिकृतले देखाएका थिए । प्रत्यक्षदर्शीका अनुुसार उनले सामान्य विवादमा कटुवालको ज्यान लिएका हुन् भने अर्कोको घुँडामा गोली हानेर बहादुरी प्रदर्शन गरेका थिए । यो घटनापछि निर्वाचन गराउन गएका कर्मचारीहरु “खाना,गोबर” एकै ठाउँ भएर बसेको दुई दिन बितेको छ । स्थानीय जनताले यो समाचार तयार पारुन्जेलसम्म उनीहरुलाई घेरेर राखेका छन् भने मृतक कटुवालको लाश पनि उठाएका छैनन् ।

बैठकमा निर्वाचनमा भाग लिने प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखहरुले हस्ताक्षर गरी सहमति जनाएका छन् । तर स्थानीय जनताले भने यो घटनालाई कसरी लिने हुन् यसै भन्न सक्ने अवस्था छैन । प्रारम्भमा मिडियाकर्मीहरुले घटनाबारे सोधपुछ गर्दा बोल्नै नचाहने सरकारी निकायले घटनालाई भने स्वीकार गरेका छन् ।

टिप्पणीहरू