मतगणनाप्रति निर्वाचन आयोगको आशंका, मतपेटिका लुट्दा पनि प्रहरी प्रशासन मौन रहेको गुनासो
निर्वाचन आयोगले तोकिएको समयमा मतगणना सकिनेमा शंका व्यक्त गरेको छ । पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना सकिनेमा आयोगले शंका जनाएको हो ।
आयोगले सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उछाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने,हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्यसमेत भएकाले मतगणनामा ढिलाइ भएको दाबी गरेको छ ।
आज प्रकाशित विज्ञप्तिमा ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्य जारी रहेको अवस्थामा मतगणना कार्यमा खटिएका कर्मचारी,राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उछाली विवादको विषय बनाई मतगणना कार्य रोक्ने,हुलहुज्जत,नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाई गर्ने गरिएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ लेखिएको छ ।
यसैबीच आयोगले अनौपचारिक रुपमा मतदानको क्रममा प्रहरी प्रशासनको फितलो उपस्थितिका कारण मतदाताहरुको नाममा उपद्रो मच्चाइएको निश्कर्ष निकालेको छ । रौतहटमा दुईवटा मतपेटिका बोकेर लैजाँदा होस् वा काभ्रेको कोशीपारिका मतदान केन्द्रमा मतपेटिका फुटाइएको प्रकरणमा-प्रहरीको भूमिका कमजोर देखिएको थियो ।
काभ्रेकै पाँचखालमा मतपेटिका र मतदानका सामाग्रीको हुर्मत लिने गरी भएको हुलदंगामा पनि प्रहरीको उपस्थिति देखिएन । बाजुरालगायत कतिपय जिल्लामा भएका जबर्जस्ती र तोडफोडका घटनामा संलग्न भएकालाई प्रहरीले पक्राउसमेत नगर्नु अर्को दुःखद पक्ष रहेको आयोगले अनौपचारिक सम्वादमा व्यक्त गरेको हो ।
उता, उदयपुरमा सामान्य बल प्रयोग गरे पुग्ने ठाउँमा अनाहक गोली चलाउँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना बालक घाइते भएका छन् । प्रहरी प्रशासनको फितलो उपस्थिति र कारवाहीप्रति आयोगले चिन्ता व्यक्त गरे पनि आजको विज्ञप्तिमा त्यसबारे केही उल्लेख नगर्नु चिन्ताको बिषय भएको बताइन्छ ।
टिप्पणीहरू