एमालेको आधार इलाका भत्काएर काँग्रेसका सेन विजयी
गुल्मीको मदाने गाउँपालिकाको वार्ड नम्बर ३ सिर्सेनीमा एमालेको ३० वर्षदेखिको विरासत तोड्दै गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका चेतबहादुर सेन वडाध्यक्षमा विजयी भएका छन् ।
अन्य चार सदस्यमध्ये खुल्ला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट खिमबहादुर केसी र महेन्द्र केसी विजयी भएका छन् । दलित महिलातर्फ पनि गठबन्धनकै सुन्तला विक विजयी भएकी छन् ।
महिला सदस्यमा भने एमालेकी डिना घर्ती विजयी भएकी छन् । २०४९ सालमा एमालेबाट गाविस अध्यक्ष सूर्यबहादुर जीसीले जित हासिल गरेदेखिनै लगातार कब्जा जमाउँदै आएको एमालेलाई यस पटक भने दुई सय १५ मतले पछि पार्दै काँग्रेसका सेनले वडाध्यक्षमा बाजी मारेका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका नारायण घर्तीले तीन सय ५५ को फराकिलो मतान्तरले काँग्रेसलाई पराजित गरेका थिए । तर २०७४ सालमा पालिकामा १४ सय चानचुन मतान्तरले विजय हासिल गरेको एमालेलाई यस पटक भने अन्तिम दुई वटा वार्ड गन्न बाँकी रहँदा एमालेका प्रेम केसीले ४४ मतान्तरले मात्र अग्रता लिएका छन् ।
गठबन्धनका तर्फबाट भने काँग्रेसका महेन्द्र कुँवरले केसीलाई पछ्याइरहेका छन् । उप प्रमुखमा एमालेकी सरिता खड्काले एक सय ३० मतले अग्रता लिएका छन् । उनीभन्दा पछि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेगमबहादुर चन्द देखिन्छन् ।
भोट क्रस भएका कारण चन्दको मत बदर भइरहेकाले उनको मतान्तर फराकिलो भएको हो । अहिले गणना भैरहेको वार्ड नम्बर ६ पूर्कोट दह गठबन्धनका पालिका अध्यक्षका उम्मेदवार कुँवरको गृह वार्ड भएकाले रोचक तरिकाले हेरिएको छ । मतगणना भइसकेका पाँच वटा वार्ड मध्ये तीन वटामा गठबन्धन उम्मेदवार विजयी भएका छन् भने दुई वटामा एमाले उम्मेदवार विजयी भएका छन् ।
अघिल्लो स्थानीय चुनावमा सातवटा वडामध्ये एउटा भनभनेमा मात्र काँग्रेसले जितेको थियो । अरू ६ वटा वार्डमा एमालेले जितेको थियो ।
टिप्पणीहरू