मत गणनाको प्रारिम्भिक नतिजासँगै एमालेका आरोप सार्वजनिक

मत गणनाको प्रारिम्भिक नतिजासँगै एमालेका आरोप सार्वजनिक

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले जसरी पनि निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहारा लिएको आरोप लगाउनुभएको हो ।

‘सत्ता गठबन्धनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको,’ आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ । निर्वाचनको क्रममा गृह प्रशासन गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको उहाँले दाबी गर्नुभएको छ । निर्वाचन शुरु हुनुभन्दा अगाडि, मतदानको समय र मतगणनाको समयमा समेत धाँधली भएको एमालेले जनाएको छ ।

सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासन खटाइएको, आफ्ना मतदातालाई निर्वाचन हुने अघिल्लो दिन पक्राउ गरेको आरोप पनि लगाइएको छ । त्यस्तै सत्ता गठबन्धनले हाकाहाकी पैसा बाँड्ने काम गरे पनि प्रशासनले कारबाही नगरेको एमालेको भनाइ छ ।

मतदानको दिन दर्जनौं बुथ कब्जा गरिएको, मतगणनास्थलमा मतपेटिका पुर्याउन जानेक्रममा उम्मेदवारलाई मतपेटिका राखिएको सवारी साधनमा जान रोक लगाइएको, सुरक्षित राखिएको बाकसको सिल तोडेकोलगायतका आरोपहरु पनि एमालेले क्रमैसँग लगाएको छ ।

बदर हुनुपर्ने मतपत्र सदर गरेको, काठमाडौंको चन्द्रागिरि वडा नम्बर ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मतपत्र भेटिएको, पुनः मतदान गर्न माग गर्दा अस्वीकार गरिएको, गतगणना कार्य ढिलो भइरहेको, सत्तापक्षले पुनः मतदानको माग गर्दा तत्काल स्वीकार गर्ने र विपक्षीले माग गर्दा अस्वीकार गरिएको भन्दै एमालेले गुनासो पोखेको छ ।

‘हामी सत्तागठबन्धनबाट नेकपा (एमाले) विरुद्ध गरिएको मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रिएको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य रोक्न सरकारसँग माग गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/Press-Statement-Jesth-1-uml.pdf”]

टिप्पणीहरू