मृतक र बिदेश बस्नेको लगत कट्टा नगर्दा पनि परिणाममा असर
राजधानी काठमाडौं उपत्यकाका शहरी क्षेत्र र उपत्यका बाहिरका केही शहरी निर्वाचन क्षेत्रमा यस पटक मतदान निकै कम भएको पाइयो । जबकि कर्णाली प्रदेशका विकट जिल्ला र स्थानीय तहमा ७० प्रतिशतभन्दा माथि मतदान भएको थियो ।
राजधानी काठमाडौंमा मुश्किलले ५० प्रतिशतमाथि र अन्य शहरी क्षेत्रमा ६० प्रतिशतभन्दा कम मतदान भएको थियो । यसरी मतदान कम हुनुको कारणवारे धेरैले आफ्नै ढंगले अर्थ्याएको पनि पाइयो ।
कसैले शहरी क्षेत्रका मतदाताले मतदानप्रति चासो नदिएको, व्यवस्थाप्रति अरुचि देखाएको भन्नेसम्मका अर्थ लगाए तर निर्वाचन आयोग र केही विज्ञले भने यसअघिको सूचीमा रहेका तर निधन भएकाहरुको लगत कट्टा नगर्नु पनि यौटा कारण भएको बताएका छन् ।
कतिपय समाजशास्त्रीले शहरी र राजधानी क्षेत्रका सुकिलामुकिला मतदाताहरु अधिकांश विदेशमा रहेकाले पनि मत कम खसेको हुनसक्ने बताए । विशेषगरी कोरोना महामारी शुरु भएपछि अमेरिका,बेलायत र अष्ट्रेलिया गएका अभिभावकको संख्या काठमाडौं र शहरी क्षेत्रमा धेरै पाइएको छ । त्यसमध्ये पनि राजधानीमा भित्री शहरका बढी छन् ।
लगत्त कट्टा गर्नैपर्ने नाम नगर्नुले पनि अप्ठेरो अवस्था बनेको देखिन्छ । मतदाताको नाम र क्रम संख्या नमिलेरसमेत कतिपयले दुःख पाएक । यो अवस्था सबैतिर उस्तै थियो ।
यसरी लगत कट्टा नगरेको कारण धेरै समस्या देखिएका निर्वाचन क्षेत्रहरुमा गोकर्णेश्वर नगरपालिका, सूर्यविनायक नगरपालिका र काठमाडौं ४ को वडा कार्यालयस्थित मतदान केन्द्र ‘ग’ हुन् ।
मतदाता परिचयपत्र बनाएकाको मुुलुकभित्र कुनै पनि जिल्ला वा स्थानीय तहमा दुईतिर नाम हुनै नसक्ने आयोगको दाबी छ । त्यसैले राजधानीबाट मतदाता गाउँ फर्कंदैमा यताको मतदाताले उता र उताकाले यता आएर भोट हाल्न पाउने सम्भावना नै नहुने उनीहरुको बुझाइ छ ।
टिप्पणीहरू