मत गन्न ढिलाइ हुनुको के हो खास कारण ?
स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिने क्रममा मतदानको दुई दिनअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र देशभरिका सबै पालिकाको नतिजा प्रकाशित भैसक्ने बताएका थिए । यो पटक पाँच दिनभित्रै परिणाम प्रकाशित गर्नेगरी आयोगले तयारी मिलाएको उनको दाबी थियो । तर, मतगणनाको तेस्रो दिन सोमबार बिहानसम्म जम्मा एक सय तहको अन्तिम परिणाम आएको छ ।
जेठ ७ गते अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएकाले त्यसअघि नै नयाँ प्रतिनिधिलाई कार्यभार सुम्पने तयारीका साथ आयोगले पाँच दिनमा परिणाम सार्वजनिक गर्ने योजना बनाए पनि सोअनुसार गणना हुन भने सकेको छैन । धेरै मतदाता भएका महानगर र उपमहानगरमा मात्र होइन, अधिकांश गाउँपालिकामा पनि निकै सुस्त गतिमा गणना भैरहेको छ ।
काठमाण्डौ महानगरपालिकाका सबै मतदानस्थलबाट वैशाख ३० गते राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा भोलिपल्ट बिहान १० बजेदेखि शुरु भएको मतगणना साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनेर सकियो । १ लाख ९१ हजार १८६ मत खसेको काठमाडौँमा सोमबार बिहानसम्म करिब २० हजार मत गनेर सकिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न एक महिना लाग्नेछ । अन्य महानगरको अवस्था पनि त्यस्तै छ ।
२०७४ को निर्वाचनमा अन्तिम मतपरिणाम सार्वजनिक गर्न १७ दिनसम्म लागेको थियो । यहि रफ्तारमा गणना हुने हो भने यसपटक १७ दिनमा पनि सबै ठाउँको परिणाम आउने देखिंदैन ।
मत परिणाम सार्वजनिक गर्न ढिलाई हुँदा एकातिर चुनावको विश्वसनीयतामाथि प्रश्न उठ्ने खतरा रहन्छ भने अर्कोतिर समय र जनशक्तिको अनावश्यक खर्चभार बढ्न जान्छ । यसले विश्वमाझ नेपालको लोकतन्त्र र चुनाव प्रणालीमाथि राम्रो सन्देश पनि गएको छैन । सूचना प्रविधिको आजको युगमा नाङ्ग्लोजत्रो मतपत्र छापेर भोट हाल्नुपर्ने र एउटा मत गन्न २० मीनेट लाग्ने आफैँमा दुर्भाग्यपूर्ण कुरा हो । तर,यसको जिम्मेवारी कसले लिने ? निर्वाचन आयोगले सबै पालिकामा मतगणनास्थल थप गरेर चाँडै नतिजा सार्वजनिक गर्नेतर्फ ध्यान दिनुपर्छ ।
“सूचना प्रविधिको आजको युगमा नाङ्ग्लोजत्रो मतपत्र छापेर भोट हाल्नुपर्ने र एउटा मत गन्न २० मीनेट लाग्ने आफैँमा दुर्भाग्यपूर्ण कुरा हो । तर,यसको जिम्मेवारी कसले लिने ?”
एकजना पूर्वनिर्वाचन आयुक्तका अनुसार मतगणना ढिलाई हुनुमा निर्वाचन आयोग नै मुख्य जिम्मेवार छ । दुई वटा कारणले गणना ढिलो भैरहेको उनले बताए । आयोगले उम्मेदवार नै नभएका ठाउँमा पनि सबै चुनाव चिन्ह राखेर ठूलो मतपत्र छापेका कारण बदर धेरै देखिएको र झन्झटिलो हुँदा गणना ढिलो भएको उनको बुझाइ छ । त्यस्तै, मतगणनाको कार्यविधिसमेत गलत छ ।
निर्वाचन अधिकृतको जिम्मेवारी खोसेर आयोगले आफ्ना कर्मचारीप्रति मात्र बढी भरोसा गरेका कारण समग्र चुनावी प्रक्रियामा ढिलासुस्ती हुने गरेको विगतको नजिर पनि छ । न्यायसेवाबाट गएका कर्मचारीले काम गर्न सक्दैनन् भन्ने पुरानो मानसिकता हावी हुँदा निर्वाचन अधिकृतलाई पेन्डुलम बनाएर आयोगले जिल्लास्थित आफ्नै कर्मचारीलाई बढी विश्वास गर्ने गरेको आरोप पनि छ । ‘निर्वाचन आयोगले अनावश्यकरुपमा आदर्श छाँट्यो तर, काम गरेन’, उनले भने, ‘गर्ने काम गर भन्नुपर्यो । अंकुश लगाएर हुँदैन । विश्वास गरेर जिम्मा दिनुपर्छ ।’
आयोगले खर्चको कार्यविधि संकुचित गरिदिएका कारण कर्मचारी थपेर गणनास्थल थप गर्न नसकिएको उनको भनाइ छ । अहिलेकै हिसाबले पारिश्रमिक र भत्ता दिएर जनशक्ति थपी मतगणना गराउँदा बेरुजु निस्कने र अख्तियार लाग्ने डरले पनि काम गरेको हुनसक्छ ।
आयोगले निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हुन्छ । मतदानको तयारीदेखि मतगणना सम्पन्न गरेर परिणाम सार्वजनिक गर्नेसम्मको जिम्मेवारी उनीहरुले पाएका छन् । तर,निर्वाचनसँग सम्बन्धित कतिपय प्राविधिक निर्णयमा उनीहरुको खास भूमिका हुँदैन । बताइएअनुसार निर्वाचन अधिकृतलाई भन्दा जिल्ला निर्वाचन अधिकारीलाई बढी भूमिका दिने गरी मतगणनाको कार्यविधि बनाइएको छ । यहि अन्तविरोधका कारण अहिले मतगणनामा ढिलाई भएको बताइन्छ ।
‘जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगकै अंग हो । त्यहाँ शाखा अधिकृत तहको हाकिम छ । जिल्ला न्यायाधीश फर्स्ट क्लास अफिसर हो । तर, न्यायाधीश जो मुख्य निर्वाचन अधिकृत हुन्छ उसलाई नपत्याएर एउटा शाखा अधिकृतलाई सबै जिम्मा दिएका कारण यस्तो भएको हो’, तिनै पूर्वआयुक्त भन्छन् ।
गत माघमा सम्पन्न राष्ट्रियसभा चुनावमा सातवटै प्रदेशका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले विज्ञप्ति निकालेर आयोगको भूमिकामाथि अप्रत्यक्ष प्रश्न उठाएका थिए । त्यतिबेलादेखि नै मुखरित भएको यो समस्या अहिले आएर झन् बढेको बताइन्छ । पूर्वआयुक्त भन्छन्, ‘निर्वाचन अधिकृतको अधिकार यसैगरी घटाउँदै जाने हो भने अर्को चुनावमा निर्वाचन अधिकृतहरुले हामी खट्न सक्दैनौँ भन्ने अवस्था नआउला भन्न सकिन्न ।’
टिप्पणीहरू