म्याग्दीमा कांग्रेसले खाता खोल्यो
हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकामा अध्यक्ष उपाध्यक्षमा बिजय हासिल गर्दै नेपाली कांग्रेसले खाता खोलेको छ । गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका भवबहादुर भण्डारीले ४०३८ मतसहित विजय हासिल गर्नुभएको हो ।
अध्यक्षका अर्का प्रत्यासी एमालेका प्रेमबहादुर कार्कीले ३२८९ मत प्राप्त गर्नुभएको नव निर्वाचित अध्यक्ष भण्डारीले बताउनुभयो । भवबहादुर भण्डारी रघुगंगा गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमकुमारी पुनले ३३६४ मतसहित विजयी हुँदा एमालेकी यामकुमारी गर्वुजाले ३२४५ मतले पछ्याउनुभएको थियो । गाउँपालिकाको वडाध्यक्षहरुमा वडानम्बर १ बेगमा वीलप्रसाद फगामी, ४ दग्नाममा पविन गर्वुजा, ५ झिंमा मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा मनकुमार शेरपुञ्जा र ८ कुईनेमंगलेमा गमान छन्त्याल नेपाली कांग्रेसबाट बिजयी हुनुभएको छ ।
रघुगंगा गाउँपालिकाका ८ वडामध्ये नेकपा एमालेले वडा नम्बर २ मा अमित भण्डारी, ३ मा खिमबहादुर शाही, ७ मा थकबहादुर पाईजाको नेतृत्वमा प्यानल जीतेको छ ।
०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिकामा पुरै पराजीत भएको एमालेले यस पटक भने तीन वटा वडामा जित हासिल गरेको छ भने मतान्तर पनि ७९३ मा झारेको छ ।
टिप्पणीहरू