आयोगको जेठ ५ को भाका के हुन्छ ?

आयोगको जेठ ५ को भाका के हुन्छ ?

कछुवा गतिको मत परिणामलाई लिएर सर्वत्र आलोचना भएको छ । दुई दिनअघि प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जेठ ५ गतेभित्र सबै परिणाम आइसक्ने बताए पनि आज जेठ ३ गतेसम्मको परिणामले उक्त भनाइलाई पुष्टि गर्ने लक्षण देखिँदैन ।

सोही सन्दर्भमा जनआस्थाले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई सोधेको थियो ‘जेठ ५ को भाका अब के हुन्छ ?’ भण्डारीले भन्नुभयो, ‘अघिल्लो पटक जेठ ५ गते शपथ गराइएको हो । तर अब त्यहि जेठ ५ को मितिको निम्ति प्रक्रिया शुरु भएकाले जहिले मत परिणाम आए पनि फरक पर्दैन ।’

उहाँका अनुसार परिणाम आउन ढिलो हुनु एउटा पक्ष हो । तर जेठ ५ को प्रक्रिया शुरु भइसकेको कानुनी आधार बनेकाले त्यसपछि शपथ ग्रहण गरेर कार्यकाल सम्हाल्न कानुनी समस्या देखिँदैन ।

यसअघिको निर्वाचनमा भरतपुर महानगरको एउटा मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले चपाएको कारण अहिले देशैभर मतगणनास्थलमा तार जाली लगाउनुपरेको छ । भोट गन्न प्रतिनिधिबीच छेकबार लगाइएको छ । यसबाट नेपालको निर्वाचन, गणनाप्रक्रिया र ढिलाईको नराम्रो छवि बनेको हो । यो छविले विश्वभर गलत सन्देश दिएको छ ।

तर आयुक्त भण्डारीले भने आयोगले जालीले छेकबार गर्न निर्देशन नदिएको दाबी गर्नुभयो । आयोगले उचित र कडा सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको र यसका लागि छुट्टै बजेटसमेत नराखिएको बताउनुभयो ।

त्यसरी मतपत्र च्यात्नेलाई कडा कारबाही गर्ने व्यवस्था कार्यान्वयन भएको भए अहिले तारबार गर्नै नपर्ने कानुन व्यवसायीहरु बताउँछन् । निर्वाचनसम्बन्धी कानुनमा त्यस्तो हर्कत गर्नेलाई तीन वर्षसम्म कैदको व्यवस्था छ ।

तर दलका स्थानीय नेता तथा प्रभावशाली कार्यकर्ताले मात्र गर्ने त्यस्तो कार्यको बारेमा कसले बोल्ने ? प्रहरीले पनि त्यस्तालाई पक्रन सक्दैन । आयोगले पनि निर्देशनबाहेक गर्न केही नसक्ने स्थिति छ ।

किनभने प्रहरीदेखि आयोगका पदाधिकारीसम्म सबै त्यस्तो कार्य गर्ने राजनीतिक दलका नेतृत्वसँग घाँटी जोडेर हिँड्छन् । उनीहरुलाई छुन पनि नसक्ने भएपछि अहिले चिडियाघरमा झैँ तारजाली लगाउनु परेको हो ।

टिप्पणीहरू