गैंडाकोटमा काँग्रेसको विजय जुलुस, नगरभरि काँग्रेस नै काँग्रेस

गैंडाकोटमा काँग्रेसको विजय जुलुस, नगरभरि काँग्रेस नै काँग्रेस

पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिकाको वडा नम्बर ८ मा आज नेपाली काँग्रेसले विजय जुलुस निकालेको छ । वडाअध्यक्षसहित चारजना काँग्रेसबाट विजयी भए भने अर्का एक सदस्यमा पनि गठबन्धनभित्रकै माओवादी केन्द्रका उम्मेदवारले जीत हात पारेका छन् ।

नेकपा (एमाले) का वडाअध्यक्ष उम्मेदवार नरबहादुर थापा मगरलाई पराजित गर्दै नेपाली काँग्रेसका प्रेम सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । गैंडाकोट–८ मा विजयी खुल्ला सदस्य तर्कबहादुर थापा, खगेश्वर सापकोटा, दलित महिला सदस्य सुशीला परियार काँग्रेसकै हुन् भने महिला सदस्यमा माओवादी केन्द्रकी कमला आचार्य निर्वाचित भएकी हुन् ।

उम्मेदवार चयन गर्ने बेलामा कुरा नमिले पनि मतदान गर्ने दिन नजिकिँदै जाँदा यी दुई पार्टीबीच एक–अर्कालाई भोट दिने सहमति भएको थियो । गठबन्धनकै पक्षमा मत परिणाम सार्वजनिक भएपछि आज बिहानैदेखि दुवै पार्टी मिलेर विजय जुलुस निकालेका थिए । आफूलाई अमूल्य मत दिएर जिताउने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै गैंडाकोट–८ को वडाअध्यक्षमा निर्वाचित प्रेम सापकोटाले सबै जनताको साझा मान्छे भएर निष्पक्ष काम गर्ने बताएका छन् ।

१८ वटा वडा रहेको गैंडाकोट नगरपालिकामा अहिलेसम्म गन्ती भएका अधिकांश वडामा नेपाली कांग्रेसकै उम्मेदवारले जीत हात पारेका छन् । वडा नम्बर १ मा एमालेका धु्रवप्रसाद अधिकारीलाई हराउँदै नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद रेग्मी वडाध्यक्षमा निर्वाचित भएका छन् । यो वडामा महिला सदस्य, दलित महिला सदस्य र एउटा खुल्ला सदस्य पनि काँग्रेसले नै जितेको छ । वडा नम्बर २ मा एमालेका देशबन्धु सिग्देललाई पछार्दै वडाअध्यक्षमा काँग्रेसका प्रकाश सापकोटा विजयी भएका छन् । उक्त वडामा पनि महिला सदस्य, दलित महिला सदस्य र एउटा खुल्ला सदस्य काँग्रेसले नै जितेको छ । वडा नम्बर ३ मा वडाअध्यक्षमा शिवकान्त तिवारीसहित पाँचै सदस्य नेपाली काँग्रेसको पोल्टामा परेको छ ।

वडा नम्बर ४ मा पनि वडाअध्यक्षमा तेजप्रसाद घिमिरेसहित पाँचै सदस्य कांग्रेसबाट निर्वाचित भएका छन् । वडा नम्बर ५ को वडाअध्यक्षमा नेपाली काँग्रेसकै रत्नप्रसाद सापकोटा विजयी भएका छन् । ५ नम्बर वडामा पनि सबै पद काँग्रेसकै हातमा परेको छ । वडा नम्बर ६ मा भने वडाध्यक्षमा शुभाष चापागाईंसहित एउटा खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा एमालेको टिम विजयी भएको छ ।

वडा नम्बर ७ को वडाअध्यक्षमा काँग्रेसबाटै होमनाथ सापकोटा निर्वाचित भएका छन् । अन्य चार सदस्य पनि काँग्रेसले नै जितेको छ । वडा नम्बर ९ को वडाध्यक्षमा पनि काँग्रेसकै धामनाथ सापकोटाले चुनाव जितेका छन् । त्यहाँ पनि सबै पद काँग्रेसकै पोल्टामा परेको छ । यो समाचार तयार पार्दासम्म वडा नम्बर १० को मतगणना हुँदैछ भने वडा नम्बर १३ को मतगणना भर्खरै सकिए पनि अन्तिम मतपरिणाम बाहिरिइसकेको छैन । वडा नम्बर ११ र १२ को मतगणना हुनै बाँकी छ ।

गणना भएको १४ नम्बर वडामा वडाअध्यक्ष एमालेकी कोकिसरा राना मगरले जितेकी छन् । यहाँ एउटा खुल्ला सदस्य मात्रै काँग्रेसले जितेको छ भने अरु सबै पद एमालेलाई मिलेको छ । १५ नम्बर वडामा नेपाली काँग्रेसकै प्रेमराज तिमिल्सेना वडाअध्यक्षमा निर्वाचित भएका छन् । यहाँ दुईवटा खुल्ला सदस्य राप्रपाले जितेको छ भने महिला सदस्य र दलित महिला सदस्यमा काँग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् ।

वडा नम्बर १६ मा पनि काँग्रेसकै विनोदकुमार मल्लले वडाअध्यक्ष जितेका छन् । यहाँ एउटा खुल्ला सदस्यबाहेक अरु सबैमा काँग्रेसकै जीत भएको छ । वडा नम्बर १७ मा माओवादी केन्द्रका गोपी कँडेल वडाध्यक्षमा निर्वाचित भएका छन् भने अरु सबै पदमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १८ मा काँग्रेसकै तिलबहादुर चितौरेले वडाअध्यक्षमा जितेका छन् । त्यहाँ विजयी हुने अरु पनि सबै काँग्रेसबाटै हुन् ।

गैंडाकोटको मेयर र उपमेयरमा पनि अहिलेसम्म काँग्रेसकै उम्मेदवार मदनभक्त अधिकारी र शान्ति कोइराला अरुभन्दा निकै अगाडि देखिएका छन् ।

– अजय गोर्खाली

टिप्पणीहरू