५ मतका कारण घन्काउन ठिक्क पारिएको पञ्चेबाजा एकाएक रोकियो
२०४३ मा गुमानसिंह अर्याल जनपक्षीय प्रधानपञ्च निर्वाचित हुँदा सोही पञ्चायतको वडा अध्यक्ष थिए तत्कालीन मालेका सदस्य दिनेश श्रेष्ठ । सोही वर्षदेखि माले हुँदै एमालेको कब्जामा रहेको बेसीशहर नगरपालिका २०४९ मा गाविस भएसँगै हालको ९ नम्बर वडामा गुमानसिंह अर्याल र ८ नम्बर वडामा होमबहादुर रानाले अध्यक्षमा काँग्रेसका उम्मेदवारहरुलाई नै पराजित गरेका थिए ।
२०५४ मा लमजुङमा नै कहलिएका साहु तिलक पौडेललाई पराजित गर्दै अर्याल गाविस अध्यक्ष निर्वाचित हुँदा राना सोही वडामा पुनः अध्यक्ष दोहोरिए । दुई दशकपछि नेकपा एमालेले उनै अर्याललाई नगरपालिकाको जिम्मा लगायो भने वडा नम्बर ८ मा होमबहादुर रानाकी श्रीमती पवित्रालाई दिइयो ।
अर्यालले अघिल्लो पटकको निर्वाचनमा उनै तिलक पौडेलका छोरा भेषबहादुर पौडेललाई दुर्य सय ९७ मतले पराजित गर्दै पवित्रा रानाले काँग्रेसका चर्कै नेता इन्द्रबहादुर रावललाई झण्डै तीनसय मतान्तरले पराजित गरेकी थिइन् ।
सदरमुकाम रहेको सोही वडामा पाबित्रालाई एमालेले पुनः दोहोर्यायो भने मेयरमा अर्याल बाहेकले गठबन्धनको सामना गर्न नसक्ने ठहर गर्दै उम्मेदबार बनाएको एमालेको साख अर्यालले गिर्न दिइनन् । निकै ठूलो मतान्तरले सानदार जीत निकाल्न सफल भएकी हुन् । तर २०४३ देखि एमालेको कब्जामा रहेको ८ नम्बर वडा झण्डै गुमाउनु परेको थियो ।
अन्तिम २० मत गन्न बाँकी रहँदा छ मतले प्रतिस्पर्धी कमलबहादुर अधिकारीसँग पछाडि परेकी रानाले जीतको आशा मारिसकेकी थिइन् । काँग्रेसले जीत सुनिश्चित ठानेर पञ्चेबाजा र आफ्ना कार्यकर्तालाई तम्तयारी राखेको थियो । मत गन्ने क्रममा रानालाई जाने आकलन गरिएको झण्डै डेढसय मत काँग्रेसका अधिकारीलाई परेको देखियो ।
तर अन्तिममा पाँच मतले रानाले विजयी हुन सफल भइन् । मेयरमा अर्यालले नौ हजार चार सय ७९ मत ल्याएर प्रतिद्वन्दी गठबन्धनका श्रीकान्त घिमिरेलाई दुई हजार आठ मतान्तरले पराजित गर्न सफल भए । उप मेयरमा एमालेकी पद्मा गुरुङले आठ हजार सात सय १४ मत ल्याएर गठबन्धनका हरिजंग तामाङलाई चार हजार १५ को फराकिलो मतान्तरले पराजित गरेकी छन् ।
बेसीशहर नगरपालिकामा एमालेले १, २, ५, ७, ८ १०, ११ वडामा अध्यक्षसहितको प्यानल, ९ मा अध्यक्ष बाहेक सबै र एमालेको गढ मानिएको वडा नम्बर ६ मा भने एमालेकै बागी उम्मेदवारले जितेका छन् ।
-अञ्जनकुमार हिमाली
टिप्पणीहरू