म्याग्दीका ४० वडाको परिणाममा एमाले पहिलो, काँग्रेस दोस्रो
हिमाली जिल्ला म्याग्दीमा स्थानीय तह निर्वाचन–२०७९ को मतदानपछि भएको मतगणनामा हालसम्म ४५ मध्ये ४० वटा वडाको परिणाम सार्वजनिक भएको छ । जिल्लामा एक नगरपालिका, पाँच गाउँपालिका र ४५ वटा वडा रहेकोमा चार गाउँपालिका र नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
अब एउटा गाउँपालिकाको पाँच वटा वडाको मतगणना हुन बाँकी छ । जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भइसकेको छ । अन्नपूर्ण गाउँपालिकाको मतगणना अस्तिदेखि रोकिएको छ । आठ वटा वडा रहेको उक्त गाउँपालिकामा तीन वटा वडाको मतपरिणाम सार्वजनिक भएको हो ।
तर ४ नम्बर वडाको मतगणनाका लागि मतपेटिका खोलेर मतपत्र मिलाएपछि नेपाली काँग्रेसले वडा नम्बर ३ को मत पुनः गणना गर्नुपर्ने अत्तो थापेपछि मतगणना कार्य अस्तिदेखि रोकिएको गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म सदरमुकाम रहेको बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुरत केसी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल विजयी भएका छन् ।
वडाध्यक्षहरुमध्ये १ नम्बर वडामा एमालेका टेकबहादुर थापा, २ मा नेपाली काँग्रेसका यामबहादुर कार्की, ३ मा नेकपा माओवादी केन्द्रका पदम पुन, ४ मा माओवादीका भगवान् खड्का, ५ मा एमालेका गोविन्द बानियाँ, ६ मा एमालेका कृष्णसिङ बानियाँ, ७ मा काँग्रेसका रमेशकुमार श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा काँग्रेसका चक्रबहादुर केसी र १० मा एमालेका मसवीर रोका विजयी भइसकेका छन् ।
त्यसैगरी धौलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुन, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन मगर विजयी भएका छन् । त्यस्तै वडा नम्बर १ मा झकबहादुर छन्त्याल, २ मा नेकपा एमालेका अकप्रसाद विक, ३ मा नेपाली काँग्रेसका देविन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा नेपाली काँग्रेसका अमरबहादुर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादी केन्द्रका अशोक खत्री निर्वाचित भएका हुन् ।
त्यस्तै मंगला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोका, उपाध्यक्षमा प्रेमकुमारी खत्री विजयी भएका छन् । वडा अध्यक्षहरुमा १ मा एमालेका एकजित रोका, २ मा एमालेकै धनबहादुर खाती, ३ मा माओवादीका यामबहादुर रोका, ४ मा नेपाली काँग्रेसका लालबहादुर रोका, ५ मा नेकपा एमालेका भुपेन्द्र खत्री क्षेत्री निर्वाचित भएका हुन् ।
त्यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी भए । वडा अध्यक्षहरुमा १ नम्बरमा नेपाली काँग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयकुमार बुढाथोकी, ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा नेपाली काँग्रेसका भोजेन्द्रमान पुन, ५ मा काँग्रेसका मिम पुन, ६ मा एमालेका पथबहादुर रोका र ७ मा एमालेका टकबहादुर पुन विजयी भइसकेका छन् ।
उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारी दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै प्रेमकुमारी पुन निर्वाचित भइन् ।
रघुगंगा गाउँपालिकाको वडा अध्यक्षहरुमा १ मा काँग्रेसका बिलबहादुर फगामी, २ मा नेकपा एमालेका अमृत भण्डारी, ३ मा पनि एमालेका खिमबहादुर शाही, ४ मा काँग्रेसका पविन गर्बुजा, ५ मा काँग्रेसका मनबहादुर शेरमन्जा, ६ मा काँग्रेसका मनकुमार शेरपुजा मगर, ७ मा एमालेका थकबहादुर पाइजा र ८ मा काँग्रेसका गमान छन्त्यालले विजय हासील गरेका हुन् ।
हालसम्मको घोषित परिणामअनुसार ४५ मध्ये २० वडाध्यक्षमा नेकपा एमालेले विजय हारिल गरेको छ । १५ वटा वडाध्यक्षमा नेपाली काँग्रेस र पाँच वटामा वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले आफ्नो झण्डा फहराएको छ ।
टिप्पणीहरू