ताप्लेजुङमा एमालेले भुईंको टिप्न खोज्दा पोल्टाकोसमेत पोखायो

ताप्लेजुङमा एमालेले भुईंको टिप्न खोज्दा पोल्टाकोसमेत पोखायो

-कमल भट्टराई

ताप्लेजुङको मतगणना परिणामले तीनदलीय गठबन्धनलाई उत्साहित बनाएको छ । यसअघि २०७४ मा एक्लै जिल्ला समन्वय समिति कब्जा गरेको एमालेलाई यस पटक दाँतमा ढुंगा लाग्ने भएको हो । जिल्लामा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा तीन जना, नगरपालिकाको मेयर एक गरी ४ जना, गाउँपालिका उपाध्यक्षमा दुई जना विजयी भएका छन् ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा २ जना र उपाध्यक्षमा ३ जना, एमालेबाट गाउँपालिका अध्यक्षमा ३ जना र उपाध्यक्षमा ३ जना, नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्षमा १ जना गरी कुल १८ जनाबाट जिल्ला समन्वय समिति गठन गरिने हुँदा गठबन्धन पक्षले १२ मत लिएर जिल्ला समन्वय समिति गठन गर्ने पक्का देखिएको छ । वडाध्यक्षहरुमा एमाले—२९, नेपाली काँग्रेस—१५, माओवादी केन्द्र—१०, नेकपा एकीकृत समाजवादी—२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च—१, स्वतन्त्र—४ विजयी भएका छन् ।

फक्ताङलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ती) २ हजार ६ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बू निवर्तमान अध्यक्षले २ हजार ३ सय १२ मत पाएर पराजित भएका हुन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सविन साम्रा (लिम्बू) ले २ हजार ३ सय ५८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी शान्तिमाया लिम्बू पौडेलले २ हजार २ सय १२ मत प्राप्त गरे पनि निर्वाचित बन्न सकिनन् ।

फक्ताङलुङको वडा नम्बर १ र २ मा माओवादी केन्द्र, ३ र ६ मा नेपाली काँग्रेस, ४ र ५ मा एमाले र ७ ओलाङचुङगोलामा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर कार्कीले २ हजार २३ मत प्राप्त गरेर विजयमा खुशीयाली मनाएका छन् । उनका प्रतिस्पर्धी सहयात्री नेकपा एमालेका दिवश लिम्बूलाई पनि १ हजार ९ सय ६४ मत दिएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु लामा शेर्पाले २ हजार १ सय ७४ मत पाएर जीत हात पारेका छन् भने उनका प्रतिस्पर्धी मिनाकुमारी केदेम लिम्बू पनि १ हजार ७ सय ४३ मत पाएर पराजयी भएकी छन् । उक्त गाउँपालिकामा वडाध्यक्षहरुमध्ये वडा नम्बर १, २, ३ मा एमाले, ४ मा नेपाली काँग्रेस र ५ मा माओवादी केन्द्र विजयी भएका छन् । यो मिक्वाखोला गाउँपालिका ५ नम्बर वडा एमाले नेता पासाङ शेर्पाको जन्मथलो पनि हो ।

मेरिङदेन गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका युकहाङविर (डम्बर) हाङगाम २ हजार ८ सय ६९ मत प्राप्त गरेर विजयी बनेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएका हुन् । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाहाङ श्रेङचोङवाङ २ हजार ५ सय ९८ मतले विजयी बनेका छन् ।

उनका प्रतिस्पर्धी एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेदवार दावाछिरिङ शेर्पाले १ हजार ६ सय ५७ मत प्राप्त गरे । उक्त गाउँपालिकामा वडा नम्बर १, २, ५ र ६ मा एमालेले कब्जा जमाएको छ भने ३ र ४ मा नेपाली काँग्रेसका वडाध्यक्षहरुले जीत हात पारेका छन् ।

मैवाखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विजय प्रकाश वनेमले २ हजार ६ सय ९ मत प्राप्त गरेर विजयी बने भने उनका प्रतिस्पर्धी एमालेका निवर्तमान गाउँपालिका अध्यक्ष राजन थत्लुङले २ हजार ५२ मत मात्र हात पारेर पराजित बने । उपाध्यक्षमा नेपाली काँग्रेसका कमल कुमारी वनेम लिम्बूले २ हजार ५ सय ४१ मत प्राप्त गरेर विजयी बनिन ।

उनकी प्रतिस्पर्धी निवर्तमान उपाध्यक्ष कौशिला थत्लुङलाई २ हजार १ सय १ मत मात्र प्राप्त भएको छ । जम्मा छ वटा वडा रहेको उक्त पालिकामा १ र ५ मा माओवादी केन्द, २ मा नेकपा एकीकृत समाजावदी, ३ र ४ मा नेपाली काँग्रेस, ६ मा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

उक्त गाउँपालिका जननेता मदन भण्डारीको जन्मथलो पनि हो । उनको जन्म वडा नम्बर २ को ढुङगेसाँघुको ठोट्नेमा पर्दछ । विगत लामो समयदेखि एमालेको पकड रहेको यो पालिका २०७४ को स्थानीय तहको निर्वाचनमा ३२ पदमध्ये ३१ पद एमालेको पोल्टामा परेको थियो । तर यस पटक एउटा वडा मात्र जित्न सफल भएको छ ।

गत स्थानीय तहको निर्वाचनपछि भएको संघ र प्रदेशको निर्वाचनमा समेत एमालेको भोट बैंकको रुपमा रहेको उक्त पालिका एमाले सचिव योगेश भट्टराईको पनि जन्मथलो हो । भट्टराईले सोही पालिकाबाट अत्यधिक मत प्राप्त गरेका हुन् । तर उनी संघीय सांसद र पर्यटनमन्त्री समेत बनेपछि भने उक्त पालिकामा रहेको एमालेको विरासत गुम्दै गएको बताइन्छ ।

आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन पोमूले ३ हजार ३६ मत ल्याएर विजयी बने । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५ सय २६ मत प्राप्त गरेका छन् । नेकपा एमालेकै उम्मेदवार शान्ता आङबुहाङले २ हजार ८ सय १९ मत ल्याएर उपाध्यक्षमा विजयी बन्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका प्रजिन हाङबाङ २ हजार ४ सय १२ सीमति बनेका छन् । उक्त गाउँपालिकामा वडा नम्बर १,२,३,४ मा एमाले, ५ मा माओवादी केन्द्र विजयी भएका छन् ।

पाथीभरा याङवरक गाउँपालिका अध्यक्षमा पहिले कै अध्यक्ष नेकपा एमालेका केशर मेन्याङ्बो लिम्बूले २४ मतको झिनो मतान्तरले विजय हासिल गरेका छन् । उनले जम्मा २ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका रामकुमार थेवेले २ हजार ८ सय ७४ मत ल्याएका हुन् । पालिकाको उपाध्यक्षमा पनि पहिले कै उपाध्यक्ष नेकपा एमालेकै रनमाया गुरुङ अत्यधिक मत प्राप्त गरेर विजयी बनिन् । रनमायाले ३ हजार १ सय ८६ मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कुमार लिम्बूले जम्मा १ हजार ७ सय ९१ मतमा चित्त बुझाउनु परेको छ ।

उक्त पालिकामा वडा नम्बर १,२,३,४ र ६ मा एमाले, ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । गाउँपालिकामा विगतका वडाहरु कायम रख्दै गत निर्वाचनमा नेपाली काँग्रेसले जितेका वडाहरु फिर्ता लिनेदेखि विगतमा नेपाली काँग्रेसको बर्चस्व रहेको वडा ४ समेत आफ्नो कब्जामा लिन एमाले सफल भएको छ ।

सिदिङमा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई विजयी बनेका छन् । उनले ३ हजार ८५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रदिप राईले २ हजार ३ सय ८२ मत ल्याएर पराजित बनेका हुन् । उपाध्यक्षमा विजयी माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया (बन्दना) एक मतले विजयी बनेकी छन् । उनले २ हजार ३ सय ७६ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याएका थिए ।

ताम्लिङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन । पहिले माओवादी केन्द्रबाट उपाध्यक्ष बनेका थिए । पालिकामा वडा नम्बरहरु १,२,३ र ६ एमाले, ७ नेपाली काँग्रेस, ५ मा स्वतन्त्र र ४ साब्लाखूमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाध्यक्ष हात पारेका छन् ।

सिरिजङ्घा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लालकृष्ण चौहान ६८ मतले विजयी भएका छन् । उनलाई ३ हजार ३ सय ४३ मत प्राप्त भयो भने उनका प्रतिस्पर्धी एमालेका सन्तोष चाम्लिङले ३ हजार २ सय ७५ मत पाएका छन् । सिकैचाले आफ्नो विरासत जोगाउन नसक्दा उनको हार भएको स्पष्ट देखिन्छ । २०४९ सालदेखि हालसम्म एमालेको कब्जामा रहेको सिकैचा चाम्लिङ यसअघि वडाध्यक्ष भए पनि अहिले आफ्नो टिम वा पार्टीलाई जिम्मेवारी हस्तानान्तरण गर्न नसकेको देखिन्छ ।

उपाध्यक्षमा विजयी बनेका माओवादी केन्द्रका डा. चित्र माबोले ३ हजार ५ सय ४६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी तुलसा बस्नेतलाई मतदाताले २ हजार ४ सय २५ मत दिएका छन् । पालिकाका वडाहरुमा १ र २ एमाले, ३,५,६ र ८ नेपाली काँग्रेस, ४ माओवादी केन्द्र र ७ खेवाङमा स्वतन्त्रले वडाध्यक्ष हात पारेका छन् ।

फुङलिङ नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका अमिर मादेन ६ हजार १ सय ७९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका छत्रपती प्याकुरेलले ३ हजार ८ सय ९२ मत ल्याए । उपप्रमुखमा एमालेबाट भिमा ओझा विजयी बनेकी छन् । उनले ४ हजार २ सय ७७ मत पाइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका बमबहादुर भट्टराई (तारा) ले ३ हजार ८ सय ४४ मत पाएका हुन् ।

छत्रपति र बमबहादुर दुवै निवर्तमान मेयर र उपमेयर हुन । नगरपालिकाका वडाहरुमा १,६ र ८ नेपाली काँग्रेस, २ नेकपा एकीकृत समाजवादी, ३,४,७ र ९ मा एमाले, ५, १०,११ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।

टिप्पणीहरू