दाजुको निधनपछि भाइ राष्ट्रपति,४० दिनसम्म राष्ट्रिय शोक
-अनुभव शर्मा (अवुधाबी)
संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख खलिफा बिन जायद अल नह्यानको निधनपछि उनका सहोदर भाइ त्यहाँको सर्वोच्च पदमा चुनिएका छन् । युएईको सातै प्रदेशको संयुक्त सर्वोच्च काउन्सिलले स्वर्गीय खलिफाका भाइ शेख मोहम्मद बिन जायद अल नह्यानलाई नयाँ राष्ट्रपति चयन गरेको हो ।
राष्ट्रपति खलिफाको निधनपछि उनको उत्तराधिकारीबारे भएका अनेक चर्चालाई साम्य पार्दै काउन्सिलले गत शनिवार मोहम्मद बिन जायदलाई युएईको तेस्रो राष्ट्रपति बनाएको हो ।
६१ वर्षीय नवनियुक्त राष्ट्रपति बिन जायद सन् २००४ देखि अबुधाबी प्रदेशको क्राउनप्रिन्स र युएई सुरक्षा फौजको डेपुटी सुप्रिम कमाण्डर थिए । अब उनी राष्ट्रपतिसँगै त्यहाँको सबैभन्दा ठूलो प्रदेश अबुधाबीको शासकसमेत बनेका छन् ।
सन् १९६१ मा जन्मिएका उनका चार छोरा र पाँच छोरी छन् । नवनियुक्त राष्ट्रपतिलाई दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मख्तुमले बधाई दिएका छन् । पछिल्लो केही महिनादेखि स्वास्थ्य उपचार गराइरहेका खलिफाको उपचारकै क्रममा गत शुक्रवार निधन भएको हो ।
राष्ट्रपतिको मृत्युपछि युएई सरकारले ४० दिन राष्ट्रिय शोकको घोषणा गरेको छ भने शनिवार, आइतवार र सोमवार गरी तीन दिन सार्वजनिक बिदा दिएको थियो । राष्ट्रपतिको निधनप्रति अरबका अन्य राष्ट्र तथा विश्वका थुप्रै मुलुकले समवेदना व्यक्त गरेका छन् ।
सन् २००४ को नोभेम्बरमा पिता शेख जायद बिन सुल्तान अल नह्यानको निधनपछि स्वर्गीय खलिफा युएईको दोस्रो राष्ट्रपति बनेका थिए । उनका पिता १९७१ मा युएईको प्रथम राष्ट्रपति बनेका थिए । पिताको निधनपछि दोस्रो राष्ट्रपति बनेका उनी अबुधाबी प्रदेशको १६औँ शासक पनि हुन् ।
उनी सन् २०१९ मा चौथो पटक युएईको राष्ट्रपति चुनिएका थिए । फोर्ब्सका अनुसार खलिफाको सम्पत्ति ८ सय ३० बिलियन डलर छ । उक्त सम्पत्तिमा ९७ दशमलव ८ बिलियनको कच्चा तेलको निजी भण्डार पनि समावेश छ ।
राष्ट्रपति बनेपछि खलिफाले थुप्रै सुधारका काम गरेका थिए । उनको शासनकालमा युएईमा विकासको लहर नै चलेको थियो । उनकै सहमतिमा युएईले इस्लाम देशहरुको कट्टर दुश्मन मानिने इजरायलसँग पनि मित्रताको हात अघि बढाएको थियो । उनले युएईमा काम गर्ने विदेशी कामदारको हितमा कानून बनाउन र विदेश नीति निर्माणमा बढी ध्यान दिएका थिए ।
दुबईस्थित विश्वको सबैभन्दा अग्लो भवनको नाम बुर्ज खलिफा उनकै सम्मानमा राखिएको हो । पहिले बुर्ज दुबई नाम राखिएकोमा उनलाई सम्मान दिनका लागि परिवर्तन गरेर बुर्ज खलिफा बनाइएको हो ।
सन् २००९ मा दुबईको अर्थव्यवस्था संकटमा पर्दा खलिफाले अर्बौं डलर सहायता लिएर दुबईलाई उकासेका थिए । त्यसपछि दुबईका शासक शेख मोहम्मद बिन राशीद अल मख्तुमले शेख खलिफाको सम्मानमा उक्त भवनको नाम परिवर्तन गरेर बुर्ज खलिफा राखेका थिए ।
टिप्पणीहरू