लिङ्देनलाई तर्साउन खोज्दा एमाले झनै कमजोर
-लक्ष्मी काफ्ले
नेपालको राजनीतिमा केसम्म गरिन्छ भन्ने थाहा पाउन एकपटक झापाको दक्षिणी सीमावर्ती गाउँपालिका कचनकवलको मतपरिणामलाई हेरौँ । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा यहाँ राप्रपाले भरपूर मत सोहोरेको थियो । नेपालकै होचो ठाउँका रुपमा परिचित कचनकवललाई राप्रपाको उद्गम स्थल भनिन्छ । तर, यसपटक यहाँ एउटा अनौठो गठबन्धन गरेर राप्रपालाई जिल्ल पारियो । यसपटकको चुनावमा देशैभर नमिलेका कांग्रेस–एमाले कचनकवल गाउँपालिकामा भने एकढिक्का भए । उनीहरुको लक्ष्य थियो– जसरी पनि राप्रपालाई हराउने ।
पाँच वर्षअघिको निर्वाचनमा यहाँ राप्रपाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सातमध्येका तीनवटा वडामा वडाध्यक्ष जितेको थियो । यसपटक भने सबै नतिजा सर्लक्कै उल्टियो । कांग्रेस र एमालेले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । कांग्रेसले यहाँ गाउँपालिका अध्यक्षसहित सबै वडामा उम्मेदवारी दियो । एमालेले गाउँपालिका उपाध्यक्षसहित केही वडामा उम्मेदवारी दियो । राप्रपा र माओवादी केन्द्र भने एक्लाएक्लै भिडे ।
अघिल्लो पटकको निर्वाचनपछि राप्रपामय बनेको कचनकवल कांग्रेस–एमालेको अनौठो गठबन्धनका कारण यसपटक ‘निल’ हुन पुग्यो । वडा नम्बर–२ की दलित महिला सदस्य अमृता बोगटी गन्धर्व एक मात्र राप्रपाको विजयी अनुहार हुन् । अघिल्लो चुनावमा यहाँ सबै दल एक्ला–एक्लै भिड्दा राप्रपाका अञ्जरा आलमले कांग्रेसका कालेन्द्र राजवंशीलाई ४ सय ६३ मतले हराउँदै गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए । एमालेले साथ दिएपछि यसपटक कांग्रेसका तिनै कालेन्द्रले राप्रपाका अञ्जरालाई ४ हजार ७ सय ९० मतले हराए ।
अघिल्लो चुनावमा ७ सय २ मतान्तरले कांग्रेसकी गीता ओडारी खरेललाई पराजित गरेर गाउँपालिका उपाध्यक्ष बनेकी राप्रपाकी निमसरी राजवंशी यसपटक एमालेका उम्मेदवार नवराज भट्टराईसँग १ हजार ३ सय ४१ मतले हारिन् । कचनकवलमा राप्रपाको दबदबा तोड्नका लागि यसपटक कांग्रेस र एमालेले कुनै कसर बाँकी राखेनन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र हो, कचनकवल । यतिबेला लिङ्देन निरन्तर उकालो यात्रामा छन् । राप्रपाको महाधिवेशनमा कमल थापालाई पराजित गर्दै पार्टी अध्यक्ष बनेपछि त उनको ख्याती झनै बढेको छ ।
लिङ्देन राप्रपाको अध्यक्ष बनेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक्कै मन परेको छैन । किनभने ओलीको प्रशंसा गरेर नअघाउने कमल थापालाई महाधिवेशनबाट लिङ्देनले किनारा लगाइदिए । झन केही महिनाअघि नेपाली कांग्रेसको महाधिवेशनमा लिङ्देनले ‘जनताले नेताहरुलाई चोर भन्न थालिसके’ भनेपछि त ओली थप बिच्किए । उनले लिङ्देनलाई ‘भर्खर जन्मिएको बाछो केही दिनसम्म बुरुक् बुरुक् गर्छ’ भन्नसम्म भ्याए ।
त्यसयता लिङ्देन–ओली सम्बन्ध झनै चिसिएको सत्य हो । ओलीले लिङ्देनको क्षेत्रमा राप्रपालाई हराउन जे पनि गर्नु भन्ने संकेत दिएपछि कचनकवलमा एमालेले कांग्रससँग गठबन्धन गरेको हो । लिङ्देनलाई तर्साउनका लागि एमालेले उपाध्यक्ष आफूले लिएर अध्यक्ष पद कांग्रेसलाई चढाएको स्थानीयको आँकलन छ । एमालेले केही वडामा उम्मेदवारी त दिएको थियो । तर, नतिजा राम्रो निकाल्न सकेन ।
स्थानीय तहको यो परिणमले संघीय निर्वाचनमा लिङ्देनलाई केही फरक नपार्ने लिङ्देनका समर्थक दाबी गर्छन् । प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले लिङ्देनको क्षेत्रमा यसपटक अनौठो पात्रलाई उठाउँदैछन् । प्रचण्डको साथ छाडेर एमाले पसेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्यहाँबाट चुनाव लड्ने लगभग पक्का छ । यस विषयमा छुट्टै समाचार बन्नेछ ।
लिङ्देनको क्षेत्रमा राप्रपा कमजोर भने छैन । राप्रपाले हल्दिबारी गाउँपालिकामा एमालेकै उम्मेदवारलाई नमिठो हार चखाइदिएको छ । हल्दिबारीमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै जितेको राप्रपाले दुईवटा वडामा प्यानलसहित नै जीत निकाल्यो । राप्रपाले बाह्रदशी गाउँपालिकामा एउटा वडाध्यक्ष जित्यो । मतगणना भइरहेको भद्रपुर नगरपालिकामा अहिलेसम्म दुईवटा वडामा राप्रपा विजयी भएको छ ।
टिप्पणीहरू