माओवादीले दिएको पैसा हारेपछि फिर्ता

माओवादीले दिएको पैसा हारेपछि फिर्ता

अधिकांश स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भइसकेको छ । कतिपय उम्मेदवार, मतदाता र समर्थक अन्तिम चुनावी नतिजाको पर्खाइमा छन्। योसँगै स्थानीय निर्वाचनको माहोल विस्तारै सेलाउँदै गएको देखिन्छ । यतिबेला गाउँदेखि शहरसम्म जित्नेहरू उत्साहित छन्। हार्नेहरू निराश ।

यही माहोलमा रोल्पाको गंगादेव गाउँपालिकामा भने बेग्लै प्रसंगले स्थानीय त्रसित छन् । कारण हो–एक कार्यकाल सत्ता सम्हालेर फेरि चुनावी प्रतिस्पर्धाबाट पराजय भोगेको माओवादी केन्द्रका उम्मेदवारकाे व्यवहार ।

चुनावअघि मत खरिदका लागि स्थानीय मतदातालाई पैसा बाँडेका माओवादी केन्द्र गंगादेव–५ बाट अध्यक्ष पदका उम्मेदवार मानबहादुर डाँगी अहिले गाउँ–गाउँमा पुगेर आफूले दिएको रकम फिर्ता दिन दबाब दिइरहेका छन् । उनी आफैँ र सहयोगीमार्फत् गाउँ–टाेलमा पुगेर पैसा फिर्ताको लागि स्थानीयमाथि दबाब दिएको एक भिडियो सार्वजनिक भएकाे छ।

उता स्थानीयले आफूलाई जवर्जस्ती पैसा दिएर अहिले फिर्ता मागिरहेको बताउँछन् । ‘हारेपछि पैसा खायो भनेर बदनाम गरे । मैले त्याेबेला पैसा लिएँ । माओवादीलाई भोट हालिनँ,’ स्थानीय तुलाराम वली बताउँछन्।

कति स्थानीयले त्यो पैसा फिर्ता दिइसके। कतिपय दिने चरणमा छन्। माओवादी कार्यकर्ताकाे पैसा उनैलाई फिर्ता गर्न तम्तयार रहेकाे उनीहरू बताउँछन् । चुनावमा मतदाता बिक्छन् । पैसामा लोभिन्छन् । उनीहरू स्वतन्त्र ढंगले भोट हाल्न पाउँदैनन्। त्यसो हुँदा योग्य र सक्षम उम्मेदवारले चुनाव हार्छन्। ‘पैसा पेल्नेले चुनाव जित्छन्’ प्राय: मानिसको पछिल्लो गुनासो यस्तै हुन्छ।

आफूलाई मात्रै होइन, माओवादी कार्यकर्ताले स्थानीय खिमु खत्री र भीमबहादुर वलीलाई पाँच–पाँच सय रुपैयाँ दिएको उनी दावी गर्छन्। तर माओवादी उम्मेदवारले चुनाव हारेको भोलिपल्टै खिमुले पैसा जोबाट पाए, उसैलाई फिर्ता दिइसकेका छन्।

मतदानपूर्व आफूलाई माओवादी उम्मेदवार मानबहादुर डाँगी र स्थानीय कार्यकर्ता बालाराम वलीले एक हजारमा किनेको उनी बताउँछन् । तर मतगणना सकिएपछि भन्छन्, ‘भोट माग्न सबै उम्मेदवारहरू आए। सबैलाई भोट दिन्छम् पनि भनियो । बालाराम र मानबहादुर आएर राख्दिनँ भन्दाभन्दै हजार रुपैयाँ दिए। भोट किन्नलाई होइन, चियापानी खानु भनेर गए । हारेपछि पैसा खायो भनेर बदनाम गरे।’

एक कार्यकाल स्थानीय सत्ता चलाएको माओवादी केन्द्र यो निर्वाचनमा कांग्रेससँग पराजित भएको छ। गाउँपालिका अध्यक्ष बीरबहादुर केसी फेरि माओवादीबाट अध्यक्ष पदको उम्मेदवार बनेका थिए। तर उनी तेस्रो स्थानमा पुगे। उनै बीरबहादुरलाई एमाले, कांग्रेस र स्वतन्त्रका प्रतिनिधिहरू निर्वाचनमा व्यापक पैसा बाँडेको गम्भीर आरोप लगाएका छन्।

माओवादी कार्यकर्ताले भोट मागेर पैसा दिएको कुरा झुट नभएर सत्य भएको तुलाराम दाबी गर्छन् ।

टिप्पणीहरू