चुनावमा हेलचेक्र्याई गर्ने कर्मचारीको विवरण खोजिँदै
निर्वाचन आयोगले चुनावमा लापरवाही गर्ने कर्मचारीहरुको विवरण मागेको छ । गत शुक्रबार सम्पन्न निर्वाचनमा ‘स्थानीय तह निर्वाचन निर्देशिका,२०७८’ विपरीत काम गर्ने कर्मचारीहरुको विवरण मागिएको हो ।
निर्देशिकाको व्यवस्था प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने,अर्धकट्टीमा दस्तखत नगराउने, स्ट्याम्प प्याडको सट्टा अर्कै मसी प्रयोग गराउने, मतपत्र र मतदाताको सहि विवरण तयार नगर्ने जस्ता काम भएकाले आयोगले त्यसमा संलग्न कर्मचारीको सम्पूर्ण विवरण संकलन गर्न लागेको हो ।
त्यसैगरी,मतपत्रमा मत संकेत गर्न रबरको स्वस्तिक छाप दिनुपर्नेमा पित्तलको स्वस्तिक छाप दिने,सही किसिमले मुचुल्का तयार नगर्ने, सुरक्षण सिलहरु राम्रोसंग नलगाउनेजस्ता गैरजिम्मेवारपूर्ण काम भएको पाइएको आयोगले जनाएको छ ।
कम्प्युटरमा प्रविष्ट संख्या फरक पार्ने,मतगणना सम्पन्न भएपछि घोषणा गर्न ढिलाइ गर्ने, नियमविपरीत मतपत्र सदर वा बदर गर्ने मतदान अधिकृतको नाम पनि आयोगले मागेको छ । मतदान कार्यमा खटिएका मतदान अधिकृतबाट भएका यस्ता गल्तीहरूले विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध हुने,स्थगित हुने र मतगणनासमेत प्रभावित पारेको आयोगको भनाइ छ ।
आयोगले यस्ता गल्ती गर्ने मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको विवरण खुलाई आयोगमा पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको हो ।
टिप्पणीहरू