८ स्थानीय तहको परिणाम घोषित, २ मा एमाले र ६ गठबन्धनको जीत

८ स्थानीय तहको परिणाम घोषित, २ मा एमाले र ६ गठबन्धनको जीत

मकवानपुरका आठ वटा स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । १० स्थानीय तहमध्ये बागमती गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको मात्रै गणना जारी छ ।

हालसम्म सार्वजनिक नतिजाअनुसार इन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा एमालेले जीत हासिल गरेको छ । बाँकी छ वटामा गठबन्धनले जितेको छ । गठबन्धनका तर्फबाट थाहा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विष्णु विष्ट आदर्श मेयरमा र नेपाली काँग्रेसका भरत गोपालीले उपमेयर जीत हासिल गरेका छन् । मेयर र उपमेयरमा एमालेका अच्युतमप्रसाद ढकाल र कल्पना बलामीलाई उनीहरुले पराजित गरेका हुन् ।

त्यसैगरी मनहरी गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट रञ्जन कालाखेती (काँग्रेस) अध्यक्षमा र उपाध्यक्षमा सीता पुलामी मगर (माओवादी) विजयी भएका छन् । उनीहरुले एमालेका एकराज उप्रेती र सुजिता थिङलाई पराजित गरेका हुन् । राक्सिराङ गाउँपालिकामा राजकुमार मल्ल (काँग्रेस) अध्यक्ष र वनस्तम थिङ (माओवादी) उपाध्यक्षमा निर्वाचित हुँदा एमालेका बाबुलाल स्याङ्तान र सुन्तलीमाया प्रजा पराजित भएका हुन् ।

बकैया गाउँपालिकामा धर्म लामिछाने (काँग्रेस) र भक्तबहादुर खत्री (माओवादी) निर्वाचित भए । उनीहरुले एमालेकी सरला बोलखे र लालबहादुर स्याङ्तानलाई पराजित गरे । त्यसैगरी कैलाश गाउँपालिकामा लोकबहादुर मुक्तान (काँग्रेस) र बालकुमार मल्ल (माओवादी) विजयी भए । उनीहरुले एमालेका नरेन्द्रलाल रिजाल र सुकुमाया थिङलाई पराजित गरे । त्यसैगरी मकवानपुरगढी गाउँपालिकामा अध्यक्षमा दोर्जे लामा (काँग्रेस) र मानकुमारी नेपाली (माओवादी विजयी भए । उनीहरुले एमालेका विदुर हुमागाईं र सन्तु थिङलाई पराजित गरेका हुन् ।

जिल्लाकै ठूलो पालिका मानिएको हेटौँडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामा, राप्रपाकी दीपकबहादुर सिंह र नेकपा एमालेका अनन्त पौडेलबीच मेयरमा प्रतिस्पर्धा भइरहेको छ । लामा गठबन्धनका उम्मेदवार हुन् भने गठबन्धनका उपमेयर उम्मेदवार नेपाली काँग्रेसका राजेश बानियाँ फराकिलो अन्तरमा विजय उन्मुख छन् ।

१० पालिकाका १०२ वटा वडामध्ये ८३ वटा वडामा मतगणना सकिएको छ । अब १९ वटा वडाको मतपरिणाम आउन बाँकी छ । सार्वजनिक भएको परिणामअनुसार ४० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्रले २३ वटा वडामा जीत हासिल गरेको छ ।

टिप्पणीहरू