लुम्बिनीमा ‘भारत माताकी जय’को नारा घन्कियो
बुद्ध जयन्तीको अवसरमा अस्ति नेपालले आयोजना गरेको धार्मिक समारोहमा सहभागी हुन गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घण्टा बिताएर फर्किनुभयो । नेपालका समकक्षी शेरबहादुर देउवाको निम्तोमा लुम्बिनी आउनुभएका उहाँले धार्मिक सम्बोधन पनि गर्नुभएको थियो ।
हालै सन्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नटेकी लुम्बिनी आइपुग्नुभएका मोदीको स्वागतमा प्रधानमन्त्री देउवासहित मन्त्रीहरुको लावालस्कर लागेको थियो । नेपालमा धार्मिक कूटनीति अघि बढाएर आफ्नो प्रभाव कायम राखिरहने रणनीतिअनुरुप लुम्बिनी उत्रिनुभएका मोदीले आफ्नो सम्बोधनका क्रममा नेपाली भाषामा बोलेर सहभागीको ध्यान ध्यान खिंच्ने प्रयास पनि गर्नुभयो । उहाँले नेपाल-भारत सम्बन्ध र गौतम बुद्धका बारेमा लामै प्रवचनसमेत दिनुभयो ।
समारोहको प्रमुख आकर्षण बनेका मोदीको समर्थनमा त्यहाँ सहभागी नेपाली र भारतीयले जयजयकार गरेका थिए । तर, प्रधानमन्त्री देउवा भने ‘गरुडको अगाडि परेको सर्प’ जस्तै छाँयामा मात्र पर्नुभएन उहाँको त्यहाँ अपमानसमेत भएको बताइन्छ । त्यसो त प्रधानमन्त्री देउवाका केही अस्वभाविक लाग्ने तस्वीर र भिडियो पनि सार्वजनिक भएका थिए । सामाजिक सञ्जालहरुमा भाइरल भएका ती भिडियो हेर्दा देउवाले कूटनीतिक मर्यादा ख्याल नगरेको प्रष्टै देखिन्छ ।
सवाल व्यक्तिको होइन, दुई देश र दुई प्रधानमन्त्रीको हो । देउवा नेपाली कांग्रेसको सभापति,कसैका दाइ वा श्रीमान मात्र होइन । एक सार्वभौम, स्वाधीन र स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री पनि हो । यदि प्रधानमन्त्रीलाई समयको चाप थियो भने कुनै एक मन्त्रीलाई त्यहाँको जिम्मा लगाएर काठमाडौँ फर्किन पनि सक्नुहुन्थ्यो ।
रोचक कुरा चैं मोदी समारोह हलमा प्रवेश गर्दा त्यहाँ सहभागीहरुले ‘प्रधानमन्त्री मोदीजीकी जय’, ‘भारत माताकी जय’ जस्ता नारा लगाएर समर्थनमा हुटिंग गरेका थिए । एकैसाथ हलमा छिर्नुभएका देउवाको भने त्यहाँ कुनै मतलव गरिएको थिएन । उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार भारतबाटै ल्याइएका मानिसहरुले मोदीको समर्थनमा नारावाजी र हुटिङ्ग गरेका हुन् । काठमाडौँबाट लगिएका सानो संख्यामा रहेका नेपालीहरुले पनि भारतीयले जस्तै मोदीको जयजयकार गरेका थिए ।
मोदीले भाषण गर्दा पनि मिनेट-मिनेटमा समर्थनको तालीले हल गुञ्जायमान बनेको थियो । तर,नेपाली र अंग्रेजी दुवै भाषामा देउवाले सम्बोधन गर्दा एक पटक पनि ताली बजेन । सहभागीले देउवाको भाषणप्रति कुनै रुचि देखाएनन् ।
मोदीले भाषण गरिरहँदा प्रधानमन्त्री देउवाका गतिविधि लाजमर्दो देखिएको थियो । उहाँ कहिले नाक त कहिले कान कन्याइरहनु भएको थियो । मिनेटैपिच्छे टोपी मिलाउने र कोट छाम्ने गरेको पनि देखिन्थ्यो । निकै अस्थिर र तनावग्रस्त देखिनुभएका उहाँले दुवै हात फैलाएर लामो हाइ काढी र्याल चुहाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
एउटा स्वतन्त्र र सार्वभौम मुलुकको प्रधानमन्त्रीकै सामुन्ने छिमेकी देशको समर्थनमा नारावाजी हुनु सामान्य विषय होइन । आफूले निम्त्याएका अतिथिको सम्मान गर्नु सरकारको दायित्व हो, त्यसमा दुईमत हुनु हुँदैन । तर, सम्मान दिने नाममा नाङ्गै भएर लम्पसार पर्नु चै शोभनीय होइन । देउवाको अपमान र मोदीको जयजयकार हुनु त झन् दु:खद कुरा हो ।
हुन त लामो समयदेखि वीर अस्पतालमा उपचाररत भाइको अन्तिम अवस्थाको खबरले प्रधानमन्त्री देउवाको छटपटी बढेको र उहाँको गतिविधि अस्वाभाविक देखिएको भन्दै यसलाई सामान्यकृत गर्ने प्रयास पनि भैरहेको छ । तर, सवाल व्यक्तिको होइन, दुई देश र दुई प्रधानमन्त्रीको हो । देउवा नेपाली कांग्रेसको सभापति,कसैका दाइ वा श्रीमान मात्र होइन । एक सार्वभौम, स्वाधीन र स्वतन्त्र राष्ट्रको प्रधानमन्त्री पनि हो । यदि प्रधानमन्त्रीलाई समयको चाप थियो भने कुनै एक मन्त्रीलाई त्यहाँको जिम्मा लगाएर काठमाडौँ फर्किन पनि सक्नुहुन्थ्यो ।
त्यसैले,कूटनीतिका जानकारहरुले भनेका होलान्, ‘देउवाको गैरकूटनीतिक हर्कत र समारोहको उचित व्यवस्थापनमा ध्यान नदिएकै कारण भारतीयहरुको हेपाहा र ठूल्दाई प्रवृत्ति लुम्बिनीमा पनि प्रकट भएको हो ।’
टिप्पणीहरू