‘बा’ लाई नेताको संख्या घटाउन सल्लाह, शंकर पोखरेलको ‘चमत्कार’ मा हाहाकार

‘बा’ लाई नेताको संख्या घटाउन सल्लाह, शंकर पोखरेलको ‘चमत्कार’ मा हाहाकार

स्थानीय चुनावमा एमालेले हार व्यहोरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली ‘बा’ लाई पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउन सुझाव दिन थालिएको छ । एउटै जिल्लामा एकभन्दा बढी केन्द्रीय सदस्य र नेताहरु हुँदा पनि पार्टीले शर्मनाक हार व्यहोर्न परेको भन्दै उक्त सल्लाह दिइएको हो ।

ओली निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले पनि सामाजिक सञ्जालमा लेखेर त्यस्तो सल्लाह दिएका छन् । उनले एमालेलाई गतिशील र जुझारु बनाउन पदाधिकारी ९ जना र केन्द्रीय कमिटीको संख्या ८६ मा सीमित गर्न सुझाएका हुन् ।

स्थानीय तहको निर्वाचन परिणाम आउँदै गर्दा अधिकांश पालिका र उम्मेदवारलाई जनताले नभई एमाले नेताहरुले अन्तर्घात गरेर हराइएको उनको निश्कर्ष छ । उनले लेखेका छन्, ‘११ औं महाधिवेशनमा नेतृत्व हत्याउने खुराफाती खेलले लगभग १०४ प्रमुख र ९७ उपप्रमुख गुम्यो ।’

बालकोटको भित्रिया भनेर चिनिएका बस्नेतले लेखेको स्टाटसबाट ओलीको आदेशलाई तलतिरका नेता तथा कार्यकर्ताले नटेरेको स्पष्ट हुन्छ । उनले एमालेलाई जनताको साथ सदाबहार रहेको तर नेता तथा कार्यकर्ताले आदेशकर्ता नभएर आदेशपालक बन्नुपर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘धेरै प्रिय कमरेडहरूलाई चित्त दुख्ला, तर यथार्थ हो । अब हामी सबैले अध्यक्ष कमरेड केपी शर्मा ओलीको विश्वासमाथि घात नगर्ने प्रण गरौं, छलछाम नगरौं । जनतासँग भिजेकालाई छेक्न ग्रेटवाल नलगाऔं, जनताको अपार माया हुँदा पनि एमाले नेताकै यी प्रवृत्तिका कारण एमालेले धेरै पालिका गुमायो ।’

पार्टीभित्र अन्तर्घात भएको,नातावाद र कृपावाद मौलाएको चर्चालाई पनि उनले आफ्नो गृहपालिकासँग जोडेर हेरेका छन् । आफू मतदाता रहेको दोलखाको गौरीशंकर पालिका प्रमुख तथा उपप्रमुख र हाल बसोबास रहेको भक्तपुरको सूर्यविनायक–३ को वडाध्यक्ष हराउन एमालेका नेताहरु नै लागेको उनको आरोप छ । उनले त्यस्ता नेताहरूको कर्तुत माफी गर्न लायक नभएको निश्कर्ष निकालेका छन् ।

गणेशले सोधेका छन्,‘ कहाँ–कहाँ त्यस्तो खेल भो ?’ उनले चुनावी परिणामपछि जो–जो रिसाए पनि तथ्य बाहिर ल्याउनुपर्ने सुझाव दिएका छन् ।

उता, एमालेनिकट सञ्चारकर्मी ध्रुव लम्सालले चुनाव हार्नुमा तल्ला तहका नेता तथा कार्यकर्ताको हातभन्दा उपल्लो तहका नेताको बुझाइ भनेर लेखेका छन् । चुनावभन्दा पाँच दिनअघि महासचिव शंकर पोखरेलले सम्पादकहरुसँगको अन्तरक्रियामा व्यक्त धारणाले निर्वाचन हार्ने छनक दिएको उनको ठहर छ ।

लम्सालले अन्तरक्रियामा महासचिवलाई सोधेको अन्तिम जिज्ञासा उल्लेख गर्दै भनेका छन्, ‘केशव स्थापितको अभिव्यक्तिका कारण बालेन शाहको भोट बढे जस्तो लाग्दैन ?’

तर लम्साललाई जवाफ दिँदै पोखेलले भने, ‘निश्चिन्त हुनुस्, महानगरपालिकाहरुमा एमालेले चमत्कार गर्दैछ ।’

टिप्पणीहरू