अब १८७ पालिकाको परिणाम आउन बाँकी : नगर र गाउँ दुवैतिर एमाले दोस्रो

अब १८७ पालिकाको परिणाम आउन बाँकी : नगर र गाउँ दुवैतिर एमाले दोस्रो

स्थानीय तह निर्वाचन सकिएको सात दिन हुँदा पनि निर्वाचन परिणाम आउने क्रम सकिएको छैन । सात ७५३ स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ । आज दिउँसोसम्म निर्वाचन आयोगले ५६६ पालिकाको मतपरिणाम सार्वजनिक गरिसकेको छ ।

जसमा सत्तागठबन्धन दल नेपाली काँग्रेस पहिलो, माओवादी केन्द्र तेस्रो, नेकपा एकीकृत समाजवादी चौथो र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दोस्रो स्थानमा रहेका छन् । अघिल्लो निर्वाचनमा पहिलो पार्टी बनेको एमाले यस पटक दोस्रो स्थानमा झरेको हो ।

मेयर र उपमेयरमा काँग्रेस अघि

नेपाली काँग्रेसले हालसम्म स्थानीय तहका ८६ पालिका प्रमुख जितेको छ भने ४३ पालिकामा अग्रता लिइरहेको छ । काँग्रेसले ६७ पालिकाको उपमेयर पद जितेको छ भने ३३ पालिकाको उपमेयरमा अगाडी छ । यो संख्या एमालेको भन्दा करिब दोब्बर हो ।

दोस्रो स्थानमा रहेको एमाले पालिकाका ५२ प्रमुख र ६५ उपप्रमुख पदमा निर्वाचित भएको छ । यस्तै, पालिकाको ५२ प्रमुख र ४७ उपप्रमुखमा एमालेले अग्रता लिएको छ ।

माओवादी केन्द्रले १६ पालिकाको प्रमुख र २६ पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ । गणना भइरहेका पालिकाका १० मेयर र सात उपमेयरमा अगाडि छ । यसैगरि नेकपा एकीकृत समाजवादीले छ पालिकाको प्रमुख र उपप्रमुख जितेको छ । साथै, तीन पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुखमा एकीकृत समाजवादी अग्रस्थानमा छ ।

यता, स्वतन्त्र र अन्य दलहरु १२ पालिका प्रमुख र आठ पालिका उपप्रमुखमा निर्वाचित भएका छन् । अग्रता भने १४ पालिकाको उपमेयर र २१ पालिकाको मेयरमा लिएका छन् ।

गाउँपालिकामा पनि एमाले दोस्रो

निर्वाचन आयोगले आज दिउँसो ३ बजेर २० मिनेटमा दिएको जानकारीअनुसार ४६० मध्ये ३९३ गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । त्यसमा पनि काँग्रेसले नै धेरै गाउँपालिकामा जितेको हो । काँग्रेसका १६४ अध्यक्ष र १७० उपाध्यक्ष पदका उम्मेवार निर्वाचित भएका हुन् ।

काँग्रेस २१ गाउँपालिका अध्यक्ष र २० गाउँपालिका उपाध्यक्ष पदमा अगाडि देखिएको छ ।
एमालेले १०८ गाउँपालिका अध्यक्ष र १०७ गाउँपालिका उपाध्यक्षमा जीत हात पारेको छ । यस्तै, १६ अध्यक्ष र १९ उपाध्यक्ष पदमा उसले अग्रता लिइरहेको छ ।

माओवादी केन्द्रका उम्मेदवारहरु ८८ गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका छन् । बाँकी पाँच वटा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवारहरुले अग्रता लिएका छन् । साथै, उपाध्यक्षमा माओवादीका ८५ जना विजयी भए भने छ गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार अग्र स्थानमा छन् ।

गाउँपालिकामा जसपा चौथो स्थानमा परेको छ । जसपाले अहिलेसम्म १४ गाउँपालिका अध्यक्ष जितेको छ । यस्तै अग्रता छ गाउँपालिकामा लिएको देखिन्छ । उसले १२ गाउँपालिकाको उपाध्यक्ष जितेको छ । अझै पाँच वटा गाउँपालिका उपाध्यक्षमा अगाडि छ ।

स्वतन्त्र र अन्य दलहरुले १९ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेका छन् भने आठ गाउँपालिकाको अध्यक्ष र छ उपाध्यक्षमा अग्रता लिएका हुन् ।

टिप्पणीहरू