अन्यत्र मतगणना,दुई पालिकामा हुन सकेन मतदान
बाजुरा र उदयपुरको दुई वटा नगरपालिकामा अझै पनि मतदान सुचारु हुन सकेको छैन ।
निर्वाचन आयोगले के गर्ने भनेर निर्णय लिन नसक्दा दुई वटा पालिकाको मतदान सुचारु हुन नसकेको हो ।
अधिकांश स्थानीय तहमा मतगणना भइरहँदा बाजुरा बूढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान रोकिएको छ ।
बूढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपमा मतदानका सबै सामग्री पनि तोडफोड भएको हो । त्यसपछि त्यहाँ मतदान कार्य नै रोकियो ।
यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा भइरहेको मतदान पनि हालसम्म रोकिएको छ ।
निर्वाचनको दिन मुसलधारे पानी परेका कारण त्यहाँ मतदान रोकिएको थियो । पानीबाट ओत लाग्न मतदाताहरु भागाभाग हुँदा मतदान अधिकृतले मतदान रोकेका थिए ।
हाल मतदानबारे केही पनि टुंगो नलागेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए ।
टिप्पणीहरू