माओवादीले १४ पालिका थप्यो, भरतपुर जिते १२१ पुग्ने

माओवादीले १४ पालिका थप्यो, भरतपुर जिते १२१ पुग्ने

गत स्थानीय चुनावमा १०६ पालिकामा प्रमुख जितेको नेकपा माओवादी केन्द्रले यसपटक सिट बढाएको छ । विगतको जित जोगाउनसमेत माओवादीलाई कठिन हुनसक्ने चर्चाका बीच उसले १४ स्थानीय तह थपेको हो ।

माओवादीले अहिलेसम्म १२० पालिकाको प्रमुख जितिसकेको छ भने मतगणना भैरहेको भरतपुर महानगरमा अग्रता लिएको छ । गठबन्धनका तर्फबाट माओवादी उमेद्वार रेनु दाहालले फराकिलो मतान्तरले अग्रता बनाएकाले त्यहाँ जितको सम्भावना अत्यधिक छ ।

अघिल्लो पटक एउटा पनि उपमहानगर जित्न नसकेको माओवादीले यसपटक जितपुर सिमराको प्रमुख र धरानको उपप्रमुख पनि हात पारेको छ । धनगढीमा झिनो मतले उपमेयर हारेको माओवादीले गत चुनावमा भन्दा धेरै भोट पाएको छ ।

त्यस्तै, कर्णाली बागमती र लुम्बिनी प्रदेशमा पनि माओवादीले यसपटक धेरै स्थानीय तह जित्न सफल भएको छ । बागमती र कर्णालीमा माओवादी दोस्रो पार्टी बनेको छ ।

अघिल्लो चुनावमा प्रदेश १ र गण्डकीमा निकै कम तह जितेको माओवादीले यसपटक दुवै प्रदेशमा नतिजामा उल्लेखनीय सुधार गरेको छ । मधेसमा भने माओवादी कम्जोर देखिएको छ । त्यहाँका अधिकांश तहको परिणाम सार्वजनिक हुँदा जम्मा ११ पालिकामा माओवादीले नेतृत्व पाएको छ । यसअघि मधेशमा माओवादीले २१ तह जितेको थियो ।

हाल मतगणना भइरहेका पालिकामध्ये दुई वटामा माओवादीका उम्मेदवारले अग्रता लिइरहेका छन् । निर्वाचन सम्पन्न भएको सात दिन बितिसक्दा पनि अझै ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

टिप्पणीहरू