मधेश प्रदेशमा को कति बलियो,को कति कमजोर ?

मधेश प्रदेशमा को कति बलियो,को कति कमजोर ?

मधेश प्रदेशका अधिकांश पालिकामा नेपाली कांग्रेस अगाडि देखिएको छ । प्रदेशमा हालसम्म ११६ पालिका र एक हजार १८३ वडाहरुको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसका उम्मेदवारहरुले सबैभन्दा धेरै पालिकामा विजय हासिल गरेका छन् ।

दोस्रोमा नेकपा एमाले,तेस्रोमा जनता समाजवादी पार्टी,चौथोमा नेकपा माओवादी,पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टी र छैठौमा नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन् । त्यसैगरी प्रदेशमा प्रतिस्पर्धात्मक नतिजा पनि देख्न पाइएको छ । दुई वटा वडामा बराबरी मत आएकाले गोलाप्रथाद्वारा जनप्रतिनिधि चुनिएका छन् ।

महोत्तरीको बर्दीवास नगरपालिका– ८ मा नेकपा एमाले र माओवादीबिच ‘ड्र’ भएको थियो । गोलाप्रथाबाट माओवादी उम्मेदवार समशेरसिंह लामाले विजय हासिल गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–४ मा नेपाली कांग्रेसलाई गोलाप्रथाबाट हराउँदै एमालेका कृष्णकुमार साह निर्वाचित भएका छन् ।

१९ वटा वडामा एक मतले वडाध्यक्षमा पराजित हुनेहरु पनि रहेका छन् । १६ वटा वडामा एकदेखि पाँच मतले विजयी हुन सफल भएका उम्मेदवारहरु पनि छन् । यता,सिके राउतको जनमत पार्टी, विवेकशील साझा पार्टी, रमेश खरेलको सुशासन पार्टी,तमलोपा, राप्रपा,जनता पार्टी तथा लोकतान्त्रिक पार्टीले समेत प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।

“महोत्तरीको बर्दीवास नगरपालिका– ८ मा नेकपा एमाले र माओवादीबिच ‘ड्र’ भएको थियो ।”

मधेशमा योचोटि स्वतन्त्र उम्मेदवारले पनि आफ्नोलागि ठाँउ सुनिश्चित गरेको छ । कांग्रेसलाई प्रदेशभरका विभिन्न पालिकाबाट ४३ प्रमुख पद प्राप्त भएको छ । त्यसैगरी, ४५ उपप्रमुख पदमा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

प्रमुख र उपप्रमुखमा पनि एमालेले बराबरी सिट ल्याएको छ । एमालेले दुवै पदमा २३–२३ सिट ल्याएको छ । माओवादीले पनि प्रमुख र उपप्रमुखमा नौ–नौ सिट हासिल गरेको छ । समाजवादीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ ।

लोसपाका उम्मेदवार १० प्रमुख र नौ उपप्रमुखमा निर्वाचित भएका छन् । जसपाले २२ प्रमुख र २४ उपप्रमुखमा स्थान बनाएको छ । तमलोपाले एक प्रमुखमा जित हासिल गरेको छ । स्वतन्त्रले एक प्रमुख र एक उपप्रमुखमा आफ्नो ठाँउ सुनिश्चित गरेको छ ।

सिके राउतको जनमत पार्टीले प्रमुखमा दुई सिट हात पारेको छ । त्यस्तै, उपप्रमुखमा एक सिट पाएको छ । राप्रपाले भने हालसम्म पनि खाता खोल्न सकेको छैन । विवेकशीलबाट एक–एक प्रमुख र उपप्रमुख आएका छन् ।

मधेश प्रदेशमा सप्तरी,सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ वटा जिल्ला छन् । एक महानगर र तीन उपमहानगर भएको प्रदेशमा ७३ नगरपालिका र ५९ गाँउपालिका गरी कूल १३६ पालिका छन् ।

त्यसैगरी, मधेशमा एक हजार २७१ वडा छन् । स्थानीय तह निर्वाचन २०७९ मा १३६ पालिकाको प्रमुख–उपप्रमुख र वडाध्यक्षसहित ६ हजार ६३६ जनप्रतिनिधि रहने व्यवस्था छ ।

टिप्पणीहरू