काठमाडौंमा रविन्द्र खुम्चिए, लण्डनमा बीबीसी खुम्चियो

काठमाडौंमा रविन्द्र खुम्चिए, लण्डनमा बीबीसी खुम्चियो

बीबीसी नेपाली सेवा प्रमुखको जागिर छाडेर नेपालको राजनीतिमा होमिएका रविन्द्र मिश्रको विवेकशील साझा पार्टी स्थापनाको एकाध वर्षमै मैझारो हुने अवस्थामा पुगेको छ । अघिल्लो स्थानीय तह र प्रदेश तथा संघीय संसदको निर्वाचनमा निकै चर्चामा रहेको उक्त पार्टी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जमानत पनि जोगाउन नसक्ने अवस्थामा पुगेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठाइएकी उक्त पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले लोकप्रिय मत पाएकी थिइन् । त्यस्तै किशोर थापाले पनि उस्तै भोट ल्याएका थिए ।

लगत्तै भएको प्रदेश सभा निर्वाचनमा विवेकशीलले एक जना सांसद जिताएको थियो । तर अहिले राजधानीमा उक्त पार्टीका उम्मेदवारको अवस्था शर्मनाक देखिएको छ ।

यसबीच बीबीसी नेपाली सेवाले आफ्नो सेवाको अवधिलाई दुई तिहाईले घटाउने निर्णय गरेको छ । आगामी सातादेखि बीबीसी नेपाली सेवाले बिहान प्रशारण हुँदै आएको १५ मीनेट कार्यक्रम सँधैको लागि बन्द गर्दैछ ।

जुन १ तारिखदेखि साँझ पौने ९ बजेदेखि सवा ९ बजेसम्म प्रशारण गर्दै आएको ३० मीनेटको कार्यक्रमलाई १५ मीनेटमा झार्न लागिएको छ । पछिल्ला दिनमा रेडियोको परम्परागत कार्यक्रम प्रशारणको प्रभावकारितामा ह्रास आएपछि खर्च कटौतीको निम्ति यस्तो निर्णय भएको बुझिएको छ ।

बीबीसीका अन्य भाषामा झैँ नेपाली सेवातर्फ पनि अनलाइन प्रशारण र सामाग्रीलाई जोड दिइने बताइएको छ।

टिप्पणीहरू